अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश अधिवेशन : प्रतिनिधि छनोटको काम अन्तिम चरणमा 

एमाले बागमती प्रदेश अधिवेशन : प्रतिनिधि छनोटको काम अन्तिम चरणमा 

भोलिसम्म सबै जिल्लाको रिपोर्ट आउने


काठमाडौँ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । 

यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि प्रदेशका १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले बताएको छ । 

एमाले प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको बताउनुभयो । बर्तौलाका अनुसार ललितपुर महानगरको एक स्थानीय तह र सिन्धुलीको दुई वटा स्थानीय तहको बाँकी रहेको छ । 

उहाँले भन्नुभयो, ‘प्रतिनिधि छनोटको काम करिब सकियो । भोलि बेलुकासम्ममा सबै जिल्लाको रिपोर्ट आउँछ । करिब ९९ प्रतिशत काम सकिएको छ ।’ 

एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । यो जिल्लाबाट १३२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै काठमाडौँपछि काभ्रेबाट १२५ र तेस्रोमा मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यसैगरी धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका एमाले जनाएको छ ।  

एमाले बागमती प्रदेशमा प्रतिनिधिको संख्या १२ सय ५० हाराहारी पुग्ने उपसचिव बर्तौलाले जानकारी दिनुभयो । 

काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । 

बागमती प्रदेशमा  एमालेका एक लाख नौ हजार संगठित सदस्य रहेका छन् । तीमध्येबाट साढे १२ सयको हाराहारी प्रतिनिधि छनोट भएका हुन् । एमालेले १२५ संगठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० संगठित सदस्य बराबर एकजना प्रतिनिधि छानिएका छन् । 

त्यस्तै २२ जनसंगठन रहेकामा एक जनसंगठन बराबर २ र तीन जना छनोट हुने व्यवस्था गरेको छ । त्यस्तै ११ वटा प्रत्येक विभागबाट एक जना प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ ।