अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानमा नागरिक अधिकार स्थापित भएको छ: मुख्यमन्त्री कार्की

संविधानमा नागरिक अधिकार स्थापित भएको छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताउनुभएको छ।

नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस(२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताउनुभयो। 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो।

उहाँलेसंविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सो अवसरमा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले संंविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा कोशी प्रदेश प्रमुख परशराम खापुङले संविधान कार्यान्वयन, अवसर र चुनौतीका विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रातर्फ प्रथम एन्जल राई, द्वितीय स्वीकृति अधिकारी र तृतीय उषासिंह कार्की तथा छात्रतर्फका प्रथम, द्वितीय र तृतीय क्रमशः सुभम ढकाल, सफल तिमल्सेना र अनुपम काफ्लेलाई पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कारको राशि प्रथम रु पाँच हजार, द्वितीय रु चार हजार र तृतीय रु तीन हजार छ ।

समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, उपसभामुख, उच्च अदालत विराटनगरका मुख्यमन्यायाधीश, जिल्ला अदालतका प्रमुख न्यायाधीश, सुरक्षा निकायका प्रमुख, संसदीय दलका नेताहरु, सांसाद एवं मन्त्रालयका सचिव र सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।