काठमाडौं-काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।
विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ। बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनु परेको थियो।
विद्यालयको अनुगमन गर्न नगर प्रहरी आफैं खटिएको थियो । ‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौं, विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा हामीले पठाउँछौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताउनु भयो ।
महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ।
काठमाडौं महानगरपालिकामा ८९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।
तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो । सोही आह्वान अनुसार आज काठमाडौंका शिक्षकहरु आन्दोलनमा गएका हुन् ।
प्रतिक्रिया