अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधेयक फिर्ता लिएर भए पनि शिक्षकको माग सम्बोधन गर्नुपर्छ: राजेन्द्र गौतम

विधेयक फिर्ता लिएर भए पनि शिक्षकको माग सम्बोधन गर्नुपर्छ: राजेन्द्र गौतम


काठमाडौं-नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ।

विधेयकले शिक्षकको माग सम्बोधन नगरेको भएकाले सरकारसँग विधेयक फिर्ता लिन माग गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदमा दर्ता भएको शिक्षा विधेयकले अस्थायी शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा र शिक्षकहरुको सवाल, अस्थायी अवधिको गणना, बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा, कार्यसम्पादन मूल्यांकनको कुरालाई विधेयकले सम्बोधन गर्न नसकेको हुनाले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक अविलम्ब फिर्ता लिएर सरोकारवालाहरुसँग वार्ता संवाद गरी अघि बढ्नुपर्छ।’

‘सामुदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढङ्गले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशङ्का पैदा गरिदिएको छ’, गौतमले भन्नुभयो, ‘तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढङ्गले संविधानले दिएको सीमा भित्र रहेर अघि बढ्ने गरी संघीय शिक्षा ऐन आउनुपर्ने थियो । तर, सरकारले सबै दायित्वबाट पन्छिने गरी विधेयक ल्याएको छ।’

उहाँले सरकारलाई शैक्षिक वातावरण नबिथोल्ने शिक्षकहरुको माग सम्बोधन गर्न माग गर्नुभयो। नेपाल शिक्षक महासंघको माग र आन्दोलनलाई समर्थन र ऐक्यबद्धता रहेको समेत सुनाउनु भयो।