अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशनको तयारी पुरा, अध्यक्षमा चार जनाको आकांक्षा

एमाले बागमती अधिवेशनको तयारी पुरा, अध्यक्षमा चार जनाको आकांक्षा

अध्यक्ष ओलीले रोबोटबाट उद्घाटन गर्ने, ८० लाख खर्च गरिने 


काठमाडौँ–नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ  ।

काठमाडौँको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट भोलि उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । 

एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले प्रतिनिधि चयनको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।   

अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने उहाँको भनाई छ । यस्तै जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीलाई समावेशी बनाइने एमाले बागमतीले जनाएको छ ।

अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो “मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदैछ । यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुन्छ । प्रतिनिधिहरू आइसकेपछि उहाँहरुको भावनाअनुसार हामी अघि बढ्छौँ । तर बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारीरूपमा चल्ने भन्ने नै हो ।”

यस्तै एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले अधिवेशनको तयारी पूरा भएको बताउनुभयो । उहाँले अध्यक्षका लागि नेताहरुले आकांक्षा देखाएपनि नयाँ नेतृत्व सर्वसहमति रुपमा चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्वका लागि धेरै नेताहरुले आकांक्षा देखाउनुभएको छ । तर यहाँ सर्वसहमतिले नै नेतृत्व चयन हुन्छ । अहिले अध्यक्षमा आकांक्षी देखाउनु स्वभाविक हो ।’ 

१ हजार १३८ प्रतिनिधि छानिए

अधिवेशनमा १ हजार १३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । सहसचिव बर्तौलाका अनुसार महाधिवेशनमा सहभागी हुने १ हजार १३८ प्रतिनिधि छनौट भइसकेका छन् । अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको उहाँले बताउनुभयो ।  उहाँका अनुसार प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको छ ।  

अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । जहाँबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । यस्तै काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् भने प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत भएका छन् । 

अधिवेशनमा ४० वर्षमुनिका युवा प्रतिनिधिको संख्या एक सय २० रहेको छ भने महिलाको संख्या तीन सय ५० रहेको छ । बाँकी पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिएको छ । एमालेले सबै प्रदेश कमिटीमा युवाको सहभागितालाई प्राथमिकतामा राखेको छ । 

अध्यक्षमा आकांक्षी 

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा चारजना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ ।  एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् । 

बगमतीको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले लबिङ सुरु गर्नुभएको हो । 

अध्यक्षका दाबेदारमध्ये काठमाडौँबाट प्रतिनिधि बनेका बागमतीका पूर्वसभामुख श्रेष्ठ पूर्वपोलिटब्युरो सदस्य हुनुहुन्छ । नुवाकोटका पाण्डे तदर्थ कमिटीको नेतृत्व गरेकाले पुनः निर्वाचित अध्यक्षका लागि आकांक्षा राख्नुभएको छ । केन्द्रीय सदस्यद्वय ढुंगेल रामेछाप र दाहाल गृहजिल्ला मकवानपुरबाट प्रतिनिधि छनोट भएर आउनुभएको हो । अध्यक्ष बन्नका लागि आकांक्षीहरू पार्टी केन्द्रसँगको भेटघाटमा तीव्र दौडधुपमा गरिरहनुभएको छ ।  

८० लाख खर्च गरिने

एमाले बागमती प्रदेश अधिवेशनमा ८० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । 

उपसचिव बर्तौलाका अनुसार अधिवेशन अन्तर्गत मञ्च व्यवस्थापन, आवास, अतिथि सत्कार, साउन्ड सिस्टम, प्रचार प्रसार लगायतका काममा सो रकम खर्च हुनेछ ।  

उहाँका अनुसार अधिवेशनको खर्चको व्यवस्थापन प्रतिनिधि शुल्क, आर्थिक सहायता तथा सहयोग र विभिन्न लाभको पदमा रहेका व्यक्तिहरुबाट संकन गरिने छ । 

यस्तै प्रतिनिधिहरूलाई आवासको सुविधा नरहेको र आ–आफ्नो व्यवस्था गर्न सूचना गरिएको छ ।  

भोलि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको अध्यक्ष ओलीले रोबोटको माध्यमबाट उद्घाटन गर्नुहुनेछ ।  नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको जनाइएको छ ।