अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा नगर बस सञ्चालनको बाटो खुल्यो

विराटनगरमा नगर बस सञ्चालनको बाटो खुल्यो


विराटनगर–विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि बाटो खुलेको छ। बस सञ्चालनका लागि विराटनगर यातायात प्रा.लिले अनुमति पाएपछि महानगरलाई नगर बस सञ्चालनका लागि बाटो खुलेको हो।

विराटनगर महानगरमा नगर बस सञ्चालनका लागि प्रदेश लगानी प्राधिकरण कोशीमा सो कम्पनीले आवेदन दिएको थियो । आवेदनपछि विराटनगर यातायात प्रालिविरुद्ध कुनै उजुरी नपरेपछि कम्पनीले सञ्चालन अनुमति पाएको लगानी प्राधिकरणले जनाएको छ।

प्रदेश लगानी प्राधिकरण कोशीका अनुसार, वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने प्रयोजनको लागि निजी कम्पनीहरूलाई उजुरी तथा दाबी विरोध गर्न सार्वजनिक सूचना जारी गरे पनि उजुरी तथा दाबी विरोध नपरेपछि विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो । उजुरी तथा दाबी विरोध नपरेपछि एक मात्र निवेदनकर्ता विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो ।

प्राधिकरणका सूचना अधिकारी वासुदेव कुँवरले विराटनगर महानगरपालिकाले यसअघि सार्वजनिक निजी साझेदारी मोडलमा नगर बस चलाउन प्रदेश लगानी प्राधिकरणलाई पत्र पठाएर लगानीकर्ता खोज्न सहजीकरण गरिदिन आग्रह गरेको थियो । सोहीअनुसार लगानी प्राधिकरणले लगानीकर्ता खोजी गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

महानगरपालिकाले अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि चार वटा रुट पहिचान गर्ने काम सम्पन्न गरेको छ।

महानगरले बुढीगंगाको गंगाचोकबाट जोगवनी सीमा क्षेत्रसम्म सञ्चालन हुने एउटा सिधा रुट तयार गरेको छ। यस्तै विराटनगर–४ इक्राहीबाट नोबेल अस्पताल–विराटनगर विमानस्थल–कञ्चन बारी–पोखरिया–तीन पैनी–कोसी अस्पताल–देवकोटा चोक–जतुवा हुँदै बुध नगरको प्रहरी चौकीसम्म जाने दोस्रो रुट तय गरेको छ।

यसैगरी तेस्रोमा दक्षिण–पश्चिम विराटनगरको दशगजा क्षेत्रबाट दरैया–बखरी–पञ्चमुखी चोक–पिचरा–बसपार्क–शनि मन्दिर–जलजला मोड–कोसी अस्पताल–तीन पैनी–पुष्पलाल चोक हुँदै मिलन चोक जाने रुट तय गरेको छ।

महानगरपालिकाले चौथो रुटको रूपमा हाट खोलाबाट देवकोटा चोक–महावीर रोड–घाँस चोक–केशलिया नहर हुँदै ब्रह्मपुरसम्म नगर बस सञ्चालन गर्ने रुट तयार पारेको छ।