काठमाडौँ-बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका–८, कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान गरी आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मावि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
उनीहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो।
जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीका लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएको भन्दै आयोगले उनीहरु तीन जनालाई पनि मुद्दामा विपक्षी बनाएको छ ।
काम गरेभन्दा बढी भुक्तानी लिएको रकम ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा नै बिगो कायम गरी उनीहरुलाई बिगो जफतसहितको सजाय मागदाबी गरिएको छ ।
प्रतिक्रिया