अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको आकांक्षी

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको आकांक्षी


विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज १२ र १३ गते विराटनगरमा हुँदैछ। प्रदेश राजधानी विराटनगरमा अधिवेशन आयोजना हुने सो दलले जनाएको छ। अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको एमालेले सबै जिल्लाबाट प्रतिनिधि छान्ने काम करिब सम्पन्न गरिसकेको छ।

कोशी प्रदेशको अधिवेशनमा १ हजार ४७ जना प्रतिनिधि स्थानीय तह र सङ्गठनबाट छानिएर आउने व्यवस्था गरिएको छ। पार्टी सदस्य सङ्ख्याका आधारमा प्रतिनिधि सङ्ख्या निर्धारण गरेको एमाले कोशी प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो। जनवर्गीय सङ्गठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ। सबै जिल्लाबाट प्रतिनिधि छानिइसकेपछि मात्र प्रदेशले मनोनीत गर्ने जनाइएको छ।

कोशी प्रदेश अधिवेशनमा ताप्लेजुङ जिल्लाबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, तेह्रथुमबाट ४३, सङ्खुवासभाबाट ३९, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६ र मोरङबाट १७८ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ।

यसैगरी सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६ र उदयपुर जिल्लाबाट ३६ जना प्रतिनिधि आउने व्यवस्था गरिएको छ। विभिन्न जनसङ्गठनले ५६ जना प्रतिनिधि पठाउनेछन् । त्यसमध्ये मजदुर सङ्गठनका लागि ३२ जना प्रतिनिधिको कोटा दिएको एमालेले जनाएको छ।

एमाले कोशी प्रदेशको अध्यक्षमा चार आकांक्षी

नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ। आकांक्षीमध्ये मोरङबाट दुई जना हुनुहुन्छ। पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल र घनश्याम खतिवडाले प्रदेश कमिटीको नेतृत्वका लागि तयारी गरिरहनुभएको छ। यसैगरी वर्तमान अध्यक्ष तुलसी न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङ् पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ।

आकांक्षी मध्ये न्यौपाने वर्तमान प्रदेश अध्यक्ष बनेको डेढ वर्षभित्रै अधिवेशन हुन लागेकाले उहाँ एक कार्यकाल नेतृत्व गर्ने चाहनामा हुनुहुन्छ।

प्रदेश अध्यक्षका अर्का आकांक्षी ढकाल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। मोरङ एमालेमा दुईपटक अध्यक्ष बनिसक्न भएको छ।

ढकालसँग एमाले मोरङको छैटो अधिवेशनबाट जिल्ला अध्यक्षमा पराजित हुनुभएका घनश्याम खतिवडाले पनि प्रदेश अध्यक्षमा दाबी गरिरहनुभएको छ। ४७ वर्ष लामो राजनीतिक अनुभवलाई आधार मानेर उहाँ अध्यक्षको दावी गरिरहनु भएको छ।

प्रदेश अध्यक्षका दाबेदार चेम्जोङ पूर्व सांसद हुन्। उहाँ वर्तमान प्रदेश कमिटीको उपाध्यक्ष हुनुहुन्छ। आकांक्षा राख्ने नेताहरुले पार्टी केन्द्रका नेताहरुको निर्णय कुरिरहेको नेताहरु बताउनुहुन्छ।

एमालेले कोशी प्रदेशमा सहमतिमा सर्वसम्मत नेतृतव निर्वाचित गर्ने जनाएको छ। एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् ।

अध्यक्ष बन्नका लागि आकांक्षीहरू पार्टी केन्द्रसँगको भेटघाटमा तीव्र दौडधुपमा गरिरहनुभएको छ।