अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्षमा कृष्णभक्तको ‘इन्ट्री’ !

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्षमा कृष्णभक्तको ‘इन्ट्री’ !


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । 

नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले   अधिवेशनको तयारी पनि पूरा भएको बताउनुभयो । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो ।  अध्यक्षमा आकांक्षीको संख्या धेरै भएपछि  सहमतिको सम्भावना नरहेको नेताहरुले बताउने गर्नुभएको छ ।  

एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा पाँचजना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ । बगमतीको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले लबिङ सुरु गर्नुभएको हो । 

यसैबीच अध्यक्षमा पूर्व सांसद कृष्णभक्त पोखरेलले पनि अध्यक्षमा आकांक्षा देखाउनुभएको छ । पार्टी अध्यक्ष ओलीसँगको भेटपछि उहाँले अध्यक्षको लागि आफू निकट नेताहरुसँग छलफल गर्नुभएको हो । संघीय संरचनामा गएपछि पहिलो चोटी एमाले बागमती प्रदेश अधिवेशन हुँदैछ । एमाले बागमती प्रदेश अधिवेशनमा ८० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । 

अधिवेशनको अध्यक्ष ओलीले रोबोटको माध्यमबाट उद्घाटन गर्नुहुनेछ ।  नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको जनाइएको छ ।