अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्यसँग सिङ नजुधाउन सरकारलाई अध्यक्ष ओलीको चेतावनी

सत्यसँग सिङ नजुधाउन सरकारलाई अध्यक्ष ओलीको चेतावनी


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरुका माग तत्काल सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे छ।

एमाले वाग्मती प्रदेश कमिटीकाे प्रथम अधिवेशनकाे साेमबार काठमाडाैंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले शिक्षकहरुसँग दम्भ नदेखाउन सरकारलाई चेतावनी दिनुभयाे।

शक्ति विभाजित हुन सक्ने तर सत्य विभाजित हुन नसक्ने भन्दै उहाँले सत्यसँग सत्यसँग सिङ नजुधाउन समेत सरकारलाई चेतावनी दिनुभयाे।

अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताउनु भयो । उहाँले सरकार आफै मुलुकको अवस्था बिगार्न लागिरहेको पनि बताउनुभयो। 

अध्यक्ष ओलीले भन्नुभयाे, ‘सरकारलाई ढुक्क लाग्यो होला स्थायी, अस्थायी, करावाला भनेर विभाजन गरे, केहीलाई आन्दाेलनबाट फिर्ता गरे, केहीलाई सडकमा पठाए विभाजन गरे कमजाेर भयाे भनेर, शक्ति विभाजित हुन सक्छ सत्य विभाजित हुँदैन, म सरकारकाे ध्यानाकर्षण गर्न चाहान्छु शक्तिलाई विभाजित गर्न सकिएला सत्यलाई विभाजित गर्न सकिँदैन सत्य एउटै हाे, सत्यसँग सिङ नजुधाउनुस् बेरसवेर फुक्लिन्छ, शिक्षकहरुसँग दम्भ नदेखाउनुस्, चलाखी नगर्नुस् ।’

शिक्षा मन्त्रालयमा वार्ता हुनुपर्नेमा गृह मन्त्रालयमा वार्ता भएकाेमा उहाँले आपत्ति जनाउनुभयाे। एकथरी शिक्षकका माग सुन्ने र वार्ता गर्ने तर अर्काेथरीका कुरा पनि नसुन्ने वार्ता नगर्ने काम सरकारले गरिरहेकाे भन्दै अध्यक्ष ओलीले लाेकतन्त्रमा यस्ताे पक्षपात हुन नसक्ने बताउनुभयाे।

सधैं गरीब रहिरहने र शिक्षा कमजाेर हुने अवस्था एमालेलाई स्वीकार्य नहुने भन्दै उहाँले अहिलेकाे अवस्था सुधार्नुकाे सट्टा झन् बिगारिरहेकाे बताउनुभयाे।

काठमाडाैं महानगर अगाडि धर्ना बसेका युवाका माग के हुन् भन्नेबारे सरकारले चासाे नदिएकाेमा अध्यक्ष ओलीले आपत्ति जनाउनुभयाे । यस विषयमा उनीहरुसँग वार्ता गर्नुकाे सट्टा दम्भ नदेखाउन काठमाडाैं महानगरपालिका मेयर बालेन शाहलाई उहाँले आग्रह गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘एउटा युवा १२५ घण्टादेखि उभिएकाे उभियै गरेर सत्याग्रह गरिरहेकाे छ, माग के हुन् ? सरकार पुग्याे त्यहाँ ? सरकारले साेध्याे ? जाेसँग सम्बन्धित छ विषय तिनका नेताहरुसँग वार्ता गर्नुपर्ने आदि अभिव्यक्ति दिएका छन्, दम्भले घमण्डले मानिसलाई बिगार्छ ।’

समस्या बल्झाएर काेही सफल नहुने समस्या समाधान गरेर सफलता प्राप्त गर्न सकिने उहाँले बताउनुभयाे । हरेक समस्याहरु वार्ताकाे माध्यमबाट समाधान गर्न सकिने भन्दै उहाँले माओवादीलाई शान्ति पक्रियामा ल्याइएका घटना स्मरण गर्नुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘हिंसामा लागेर उत्पात मच्याइरहेकाे माओवादीलाई वार्ताकाे माध्यमबाट शान्ति प्रक्रियामा ल्याऔं, शान्तिमा बाटाेमा आयाे, विप्लव समूह फेरि पनि हिंसामा लागेकाे थियाे त्यसलाई फेरि शान्तिमा ल्याऔं, पृथकतावादमा लागिरहेकाे सिके राउत समूहलाई पनि राष्ट्रिय राजनीतिकाे मूलधारमा ल्याऔं, समस्या समाधान गर्‍याैं, समस्या समाधान गर्न सकिन्छ र गर्नुपर्छ, वार्ता गरेर मान्छे मारेर हाेइन।’

नगर प्रहरीकाे व्यवहार अभ्रद रहेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । नगर प्रहरीले नागरिकमाथि गरिरहेकाे ज्यादती बन्द हुनुपर्ने पनि उहाँले बताउनुभयाे। अध्यक्ष ओलीले गरिबहरुलाई अर्काे व्यवस्था नहुञ्जेल बिहान साँझ समय ताेकेर बजार राख्न दिनुपर्ने र उनीहरुलाई स्थायी रुपमा विकल्प दिनुपर्ने पनि बताउनुभयाे ।

गरिबले बल्लबल्ल किनेर ल्याएकाे सामान फ्याँकेर पाेखेर समस्या समाधान नहुने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे, ‘सडकमै बेच्नुपर्छ भन्ने छैन, विकल्प पनि दि‍औं, विकल्प तयार गरुञ्जेलसम्म बिहान ५ देखि ८ तथा  बेलुका ६ देखि ८ बजेसम्म बेच्न दिऔं, शहर सफा राखाैं, बाटाे खुला राखाैं, तर मानिसलाई मारेर हाेइन, पेलेर हाेइन, रुवाएर हाेइन, काेही पनि नेपालीले रुन नपर्ने परिस्थिति बनाऔं ।’

देख्दा साना देखिए पनि यी कुरा महत्वपूर्ण भएकाे भन्दै उहाँले यसतर्फ ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । तर सरकारले यी समस्या समाधान गर्न नचाहेकाे अध्यक्ष ओलीले बताउनुभयाे।

अहिलेकाे सरकारलाई सुझाव दिनु बेकार रहेकाे समेत उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘हुन त याे सरकारसँग कुनै सुझाव दिनु र केही आग्रह गर्नु बेकार छ, जनताकाे समस्यातिर, भाेकमरीतिर, महंगी बढिरहेकाेतिर, उद्याेग बन्द भइरहेकाेतिर, व्यापारीहरु निराश भइरहेकाेतिर, दशैं लाग्दा पनि न्युराेडका पसल बन्द गरेर हिँड्नुपर्दा समेत याे सरकारलाई कुनै चिन्ता छैन, सरकार दंग छ, सरकार समर्थकहरु दंग छन्, स्वागत गर्दा त त्यहाँ बच्चाबच्ची नचाएर पाे स्वागत गरे त, उधुमै पाे त भाे (चीन) त्यसैमा दंग छ, स्वागत त गरिहाल्छन् नि ।’

देशकाे अवस्थाप्रति प्रधानमन्त्री प्रचण्डलाई कुनै चासाे नभएकाे समेत उहाँले बताउनुभयाे । किसानका समस्याप्रति कृषि मन्त्रीले चासाे नदिएकाे समेत बताउनुभयाे ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद् बन्द गरिएकाेमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले १७ दिनसम्म संसद् बन्द गर्न प्रधानमन्त्रीले नै आदेश दिएकाे बताउनुभयाे । प्रधानमन्त्री नहुँदा पनि सांसद्हरुले जनताका आवाज सदनबाट उठाउन सक्ने भएपनि सरकारले नै संसद्लाई बन्दक बनाएकाे अध्यक्ष ‌ओलीले बताउनुभयाे ।