अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश अधिवेशन : बन्दसत्र अझै सुरु भएन 

एमाले बागमती प्रदेश अधिवेशन : बन्दसत्र अझै सुरु भएन 


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन । हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन । 

नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा बिहान ८ देखि हुने भनिएको बन्दसत्र अझै सुरु हुन  सकेको छैन । नेतृत्व चयनका लागि छलफल जारी रहेकाले बन्दसत्रको औपचारिक ‘सेसन’ सुरु हुन नसकेको हो । बन्दसत्रमा सहभागी हुन प्रतिनिधिहरू कमलादी परिसरमा जम्मा भइसकेका छन् ।

यस्तै बन्द सत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । आजै प्रतिवेदनमाथि समूहगत छलफल सकेर पारित गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।  

अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले आकांक्षा देखाउनुभएको छ ।  

बागमती प्रदेश अधिवेशनका लागि एमालेका १३ जिल्लाका झन्डै १२ सय प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।