अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश: आमसञ्चार विधेयकमा एमालेको संशोधन प्रस्ताव

गण्डकी प्रदेश: आमसञ्चार विधेयकमा एमालेको संशोधन प्रस्ताव


कास्की-गण्डकी प्रदेश सभामा टेबल भएको आमसञ्चार विधेयकमा नेकपा एमालेले संशोधन प्रस्ताव दर्ता गराएको छ। उक्त विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन हालेको हो। संसदमा एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, सचेतक देवका पहारी र सांसद सुधीरकुमार पौडेलले विधेयकमा आइतबार संशोधन दर्ता गराउनु भएको हो। संशोधन हाल्नुअघि एमाले संसदीय दलले पोखरामा क्रियाशील पत्रकारहरूसँग छलफल गरी सुझाव लिएको थियो।

प्रमुख सचेतक नेपालीले प्रेस रजिस्ट्रारलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउन प्रशासनिक र आर्थिक अधिकारसमेत दिइनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। ११ औँ तह अर्थात् सहसचिव सरहको प्रेस रजिस्ट्रार नियुक्तिका लागि सोही तहको सचिवको संयोजकत्वमा छनोट समिति गठन गर्ने प्रावधान विधेयमा राखिएको छ।

विधेयकमा प्रेस रजिस्ट्रारको कार्यविधि ४ वर्ष प्रस्ताव गरिएको छ । त्यतिका समयका लागि नियुक्त रजिस्ट्रारलाई सरकार फेरिँदा फेरिने अवस्था आउन नहुने भनी सचेतक समेत रहेकी सांसद देवका पहारीले संशोधन दर्ता गराउनु भएको हो ।

विधेयकमा व्यवस्था भएको प्रेस रजिस्ट्रारलाई सरकारले मनासिब कारणबिना हटाउन नहुने संशोधन प्रस्ताव छ। संस्थागत स्थिरताका लागि रजिस्ट्रारलाई सरकारले हटाउन नहुने कारणसमेत उल्लेख गरी संशोधन दर्ता गराइएको छ। सांसद पौडेलले दर्ता गरेको संशोधन प्रस्तावमा स्वतन्त्र पत्रकारको परिभाषा विधेयकमै गरिनुपर्ने उल्लेख गरिएको छ।