काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकाले देशको समस्या बुझ्ने ल्याकत नराख्ने बताउनुभएको छ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले सरकारमा देशको समस्या बुझ्ने र समाधान गर्ने प्रतिबद्धता नभएको बताउनुभयो।
अहिलेको सरकार चिल आयो भनेर आकाशमा देखाउने र भुईँमा कुखुरा चोर्ने प्रवृत्तिको रहेको अध्यक्ष ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘चिल आयो, चिल आयो भनेर आकाशमा देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनायो।’
एकातिर भ्रष्टाचार सहन्न भनेर उफ्रने र अर्कोतिर सुन तस्करी गर्ने काममा सरकार र सरकारमा रहेको पार्टीका मानिसहरू लागेका ओलीले बताउनुभयो। ओलीले भन्नुभयो, ‘यो तरीकाबाट अर्थतन्त्र कसरी सप्रिन्छ।’
व्यवसायीले हरेक सामान ल्याउँदा एलसी खोलेर ल्याउनु पर्ने बताउँदै ओलीले अरबौँ रुपैँयाको सुन भने कसरी आयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले त्यो सुन कसको पैसाले आयो ? भन्ने प्रश्न राख्नु भयो । ओलीले प्रश्न गर्नुभयो, ‘अरबको सुन एक पटकमा आएको छ, एलसी त खोलेको छैन होला नि, कहाँबाट आयो पैसा ? को हो त्यो सुनको यत्रो कारोबार गर्ने को हो त्यो ?’
युवालाई देशमा बस्ने नदिएको कारण युवा बिदेसिएका ओलीले बताउनुभयो । शिक्षा, रोजगारी र उद्यमशीलता दिन नसकेको कारण युवा बिदेसिएका उहाँले प्रष्ट पार्नुभयो ।
सरकारले काम सकेका निर्माण व्यवसायीलाई समेत भुक्तानी नदिएको भन्दै ओलीले आलोचना गर्नुभयो । यसले देशको अर्थतन्त्र नै ठप्प भएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया