अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देश प्रति गम्भीर हुनु पर्ने अवस्था छ: अध्यक्ष ओली

देश प्रति गम्भीर हुनु पर्ने अवस्था छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माणको आवश्यकता देशलाई भएको बेला देशका युवा भने विदेशमा रहेका बताउनुभएको छ। 

नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देश ओलीले आर्थिक हिसाबले सबल बन्नु पर्नेमा त्यो हुन नसकेको बताउनुभयो।

नेपाल जस्तो जीवनमय र उर्वर देश खाने लगाउने र भोकमरीको समस्यामा गुज्रिएको उहाँले बताउनुभयो । ‘मान्छे धनी हुनुपर्ने कङ्गाल हुँदै गएका छन्’, उहाँले भन्नुभयो । 

पूर्व अर्थमन्त्रीहरू समेत सहभागी रहेको सो कार्यक्रममा बोल्दै ओलीले कसरी यो देशलाई परिवर्तन गर्ने भन्ने विषयमा गम्भीर रूपमा लाग्नु पर्ने बताउनुभयो । देश प्रति गम्भीरतापूर्वक चिन्तित हुने भन्दा पनि बढी राजनीति गर्ने गरिएको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । 

यस पटक देशलाई ध्वस्त पार्ने बजेट आउँदा पनि उद्यमीका संस्थाले स्वागत गरेको उहाँले स्मरण गराउनुभयो । उद्यमीका संस्थाको त्यस्तो अभिव्यक्तिले आफू चकित परेको ओलीले बताउनुभयो। 

अध्यक्ष ओलीले देश गम्भीर संकटमा परेको बताउँदै ओलीले यसको गम्भीर उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रको सुधार सामान्य उपचारले नहुने बताउनुभयो ।‘देश प्रति साँच्चिकै गम्भीर हुनु पर्ने अवस्था छ, सामान्य हिसाबले हुँदैन अहिलेको अवस्थामा, अहिलेकाले अवस्थामा सामान्य हिसाबले हुने स्थिति छैन, सिटामोल खाएर काम लाग्ने स्थिति छैन, यो रोग हट्दैन, एक दिनको ज्वरो पनि हट्ने अवस्था छैन’, ओलीले भन्नुभयो। 

यसो भन्दा एमालेलाई सरकारमा जान हतार भएछ कि क्या हो भन्ने अर्थ लाग्न सक्ने भन्दै ओलीले स्पष्टीकरण दिनुभयो, ‘हामीलाई हतार छैन।’ एमाले मिसन २०८४ मा केन्द्रित भएको उहाँले प्रष्ट पार्नुभयो । २०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन भन्ने चिन्ता भने एमालेलाई रहेको उहाँले बताउनुभयो । 

देश जसरी अघि बढ्नु पर्ने हो त्यस्तो हुन नसकेको ओलीले बताउनुभयो । उत्पादन बढाउने बाहेक अन्य कुनै उपाय नभए पनि त्यसका निम्ति सरकारले कुनै कदम नचालेको उहाँले प्रष्ट पार्नुभयो । सरकारको यी कुरामा कुनै ध्यान नभएको भन्दै ओलीले आलोचना गर्नुभयो । ‘अहिलेको अवस्थामा सरकार कसरी टिकाउने त्यसमा ध्यान छ’, उहाँले भन्नुभयो । 

यस्तै अवस्थाबाट अब देश अगाडि बढ्न नसक्ने भन्दै उहाँले दबाबमूलक काम गर्नुपरे एमालेले अगुवाइ गर्ने बताउनुभयो। ‘अर्थतन्त्रलाई सुधार गरेर छोड्न प्रतिवद्ध छौं’ सरकारसँग राष्ट्र बैंकका अधिकारीहरुसँग समेत एमालेले छलफल गर्ने भन्दै उहाँले भन्नुभयो, ‘अब ढिलो गर्ने समय छैन । धेरै पर्खिन सक्ने अवस्था छैन ।’