अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन: विष्णु पौडेल

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन: विष्णु पौडेल


नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताउनु भएको छ।

मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने दाबी गर्नुभयो।

‘कोभिड लगायतका समस्या नहुँदा पनि अर्थतन्त्रमा कसरी समस्या आयो। बैंकमा तरलता छ। विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको छ। भनेर नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन,’ उहाँले भन्नभयो, ‘उत्पादन छैन। आयात छैन। निर्यात, माग, सप्लाई र रोजगारी पनि छैन। अफ्ठ्यारो अवस्थामा अर्थतन्त्र लयमा थियो र अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ। समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन।’

देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम अहिलेसम्म गर्न नसकेको उहाँको भनाइ छ।

पूर्वअर्थमन्त्री पौडेलले निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरू तयार हुनुपर्ने बताउनु भयो। 

प्रधानमन्त्री र अर्थमन्त्रीबाट व्यवसायीका समस्या समाधान हुने आशा नरहेको पनि उहाँले बताउनु भयो।

उहाँले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताउनु भयो।