काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ। नेतृत्वमा केन्द्रीय सदस्य द्वय कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।
निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताउननुभयो ।
अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीहरुसँग गरेको सहमतिको प्रयास असफल भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका निर्वाचन मण्डलका संयोजक गुरु बरालसहितको टोलीले अध्यक्षका आकाङ्क्षी कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालसहित अन्य नेतासँग छलफल गर्नुभएको थियो। छलफलमा मुख्यगरी ढुङ्गेल र दाहाल दुवैले उम्मेदवारी दिने अडानबाट पछि नहटेपछि निर्वाचन हुने निश्चित भएको छ।
सुरुमा अध्यक्ष पदका आकाङ्क्षी ५ जना रहेकोमा सानु श्रेष्ठ, कृष्णभक्त पोखरेल र केशव पाण्डे भने सहमति गर्न केही लचकता देखाउन भएको थियो । एमाले बागमती प्रदेश अधिवेशनमार्फत पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्यसमिति चयन हुँदैछ।







प्रतिक्रिया