काठमाडौं-विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। शिक्षक र प्रहरीबीच बानेश्वर क्षेत्रमा झडप भएको छ। झडप हुँदा पर्साका एक शिक्षककाे खुट्टा भाँचिएको छ भने दर्जनौँ शिक्षकहरू घाइते भएका छन्।
राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सहअध्यक्ष नवीनसिंह धामीका अनुसार बुधबार भएको आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा पर्साकी शिक्षिका सञ्जिताकुमारी खत्रीको खुट्टो भाँचिएको हो।
खुट्टो भाँचिएपछि अहिले उहाँको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको धामीले बताउनु भयो।
उहाँको खुट्टो भाँचिएपछि अहिले राहत शिक्षकहरुले सहयोग संकलन थालेका छन्। त्यसैगरी झडपमा पर्वतकी बालविकास शिक्षिका शर्मिला पुरी पनि घाइते हुनुभएको छ। दुवैको ट्रमा सेन्टरमा उपचार चलिरहेको छ। उहाँहरुको उपचारका लागि स्थायी शिक्षक हकहित मञ्चका अध्यक्ष रमेशबाबु भट्टराईले २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभयो।
शिक्षा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै राहत शिक्षकहरू काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।
शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर बानेश्वर सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक लगाउने क्रममा झडप भएको हो। आन्दोलनरत राहत शिक्षकले बबरमहल–नयाँबानेश्वर सडकमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन्। बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ।
राहत शिक्षकले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सिटी फुकेर र्याली निकालेका थिए। यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो।राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया