अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका पोलिटब्यूरो सदस्य बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता

नेकपा एसका पोलिटब्यूरो सदस्य बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता


काठमाडौं–माधवकुमार नेपालले नेतृत्व गरिरहेको सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशका अध्यक्ष बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चौधरीसहित ४ जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

अख्तियारले चौधरीसहित तत्कालीन निमित प्रमुख प्रशाकीय अधिकृत किरणकुमार कार्की, नायव सुब्बा गुरु ढकाल र ठेकेदार राजेश बछारविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाइएको हो। 

चौधरीसहितको टोलीले ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्य गरेको पुष्ठि भएपछि आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकेदार राजेश बछारले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसँग मिलेमतो गरी सम्झौताको सर्तविपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन र बिक्रीसमेत गरेको खुलेको जनाएको छ।

 ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याएको कारण माटो भरौटे र बलौटेको राजस्व १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट भएको पाइएको पनि अख्तियारले जनाएको छ। 

चौधरीले ८१ लाख ३५ हार ३८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो ८१ लाख ३५ हजार तीन सय ८२ रुपैयाँ १६ पैसा कायम गरी कैद सजाय तथा राजश्व रकमको दोब्बर १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३१ पैसा जरिवाना गराउन पनि माग अख्तियारले गरेको छ। 

उनले सम्झौताको सर्त बमोजिमको कार्य नगरी बलौटे र भरौट माटो अवैध रुपमा उत्खनन र बिक्री गरी बिगो रकम जम्मा १८ लाख ४४ हजार एक सय ७७ रुपैयाँ राजस्व चुहावट गरेको पनि अख्तियारले ठहर गरेको छ।

उनीहरुविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरको मतियार भई उक्त ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशको प्रावधान बमोजिमको कसुर गरेको पाइएको पनि अख्तियारले उल्लेख गरेको छ।

चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा त्रियुगा नगरको मेयरमा निर्वाचित हुनु भएको थियो । २०७८ सालको भदौमा एमालेबाट विभाजन भएर नेकपा एस गठन गरेपछि उहाँ माधव नेपालसँगै एसमा गएर कोशी प्रदेशको अध्यक्ष बन्नुभएको थियो।

यस्तो छ चौधरीविरुद्ध अख्तियारले दायर गरेको आरोपपत्र