अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुशासन र विकासको अगुवाइ गर्ने पार्टी हो: अध्यक्ष ओली

एमाले सुशासन र विकासको अगुवाइ गर्ने पार्टी हो: अध्यक्ष ओली


सुर्खेत-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको बताउनुभएको छ।

आजदेखि सुरु भएको एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले विकासको अभियन्ता र आधुनिकताको नायक एमाले भएको बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘राष्ट्र जोगाउने, समृद्ध गराउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ। सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ ।’ नेकपा एमाले अरूजस्तो पार्टी नभएको उहाँले बताउनुभयो। 

अध्यक्ष ओलीले एमालेले देशमा विकासको बाटो देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले आयो र देशमा जनताले विकास देखे। एमालेले उत्साह जगायो। राजमार्ग, पुल, सडक बने। भूकम्पको पुनः निर्माण, अस्पताल, विद्यालय, विश्वविद्यालय, सरकार कार्यालयलगायत पुनर्निर्माण भयो ।’ 

एमालेले राष्ट्रको ढुकुटी खल्तीमा सार्ने अपराध ठान्ने भन्दै यसको विरोध गर्ने बताउनुभयो । उहाँले सुन तस्करीको छानबिन महिनासम्म आन्दोलन गरेर समिति बनाउन लगाएकाले एमालेसँग भएको सहमतिमा खेलबाड नगर्न पनि सरकारलाई सुझाव दिनुभयो । 

अहिलेको गठबन्धन सरकार गैर जिम्मेवार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार जनताको समस्या हेर्दैन । अहिले यो गठबन्धन सरकार गैर जिम्मेवार छ । घृणा र अपराधलाई बढुवा दिएको छ ।’  उहाँले  असमान्ता, भेदभाव अन्त्य गरी सामाजिक न्याय र समनता सबैलाई हुनुपर्ने र राष्ट्रिय राष्ट्रिय एकता हुनुपर्ने भन्दै यसको महत्त्व आफूहरूले समाजलाई बुझाउने बताउनुभयो। 

उहाँले सरकारले अपराधलाई बढुवा दिएको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले अपराधलाई बढवा दिएको छ। मान्छे मार्नेलाई सरकारले सुटुक्क छोड्छ । गुण्डाको संरक्षण सरकारले गरेको छ।’

उहाँले आफूले सरकार छोडेको दुई वर्षमै देश ओरालो लागेको र विकास निर्माणका काम नभएको दाबी गर्नुभयो।

उहाँले कर्णाली प्रदेशमा कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले सरकारीमार्फत ठुलो मात्रामा उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धन सरकारको यसतर्फ ध्यान नगएको भन्दै पार्टीले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ। 

उहाँले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्धि भएको भन्दै विकासको सम्भावना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यसको अर्थ यहाँ विकासको सम्भावना छ। विभिन्न प्रकारका सम्भावना छ ।’