अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा

अधिवेशनमा १ हजार ४७ जना प्रतिनिधि सहभागी हुने


विराटनगर-नेकपा एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनको तयारी पूरा भएको प्रचारप्रसार उपसमिति संयोजक शैलेश लामाले बताउनु भयो।

बिहीबार पत्रकार सम्मेलन गर्दै अधिवेशन आयोजक मूल समारोह समितिले मनोनयनबाहेकका सबै जिल्लाबाट प्रतिनिधि छनोट कार्य सकिएको जनाएको छ।

पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले शुक्रबार हुने कार्यक्रमको दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको जानकारी दिनुभयो।

प्रदेश कमिटी अध्यक्ष न्यौपानेका अनुसार प्रदेशका १३७ स्थानीय तह, २३ जनवर्गीय संगठनसमेत गरी एक हजार ४७ प्रतिनिधिको सहभागिता रहनेछ। जनवर्गीय सङ्गठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ।

पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनमा प्रदेश कमिटीले विगतको समीक्षा, पार्टीलाई अघि बढाउने विषय, भावी योजना तथा कार्यदिशाबारे तय हुने जानकारी दिनुभयो।

पाँच पदाधिकारीहरू सहित २१५ सदस्यीय कमिटी १४ गते भित्रमा दिने गरी अगाडि बढाइएको इन्चार्ज महासेठले बताउनु भयो। उहाँले भन्नभयो, ‘सहमतिबाटै नेतृत्व चयन गर्ने गरी हामी अगाडि बढेका छौं । सहमति नभए लोकतान्त्रिक पद्धतिबाट १४ गते भित्रमा रिजल्ट दिने गरी नेतृत्व चयन गर्छौं।’ 

केही दिनअघिसम्म प्रदेश कमिटी अध्यक्षमा न्यौपानेसहित अन्य नेता विनोद ढकाल, घनश्याम खतिवडा लगायतले दाबी गर्नु भएको थियो । पछिल्लो समय अध्यक्षमा ढकाल र खतिवडाबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै जनाबीच सहमति हुन नसक्दा निर्वाचन हुने प्रदेश कमिटी अध्यक्ष न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

एमालेको विधान अनुसार कोशी प्रदेशसमितिमा ५ जना पदाधिकारी निर्वाचित हुनेछन्। यस्तै प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट दुई महिलासहित ५ जना सदस्य निर्वाचित हुनेछन्। कोशी प्रदेश अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ।