अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘बागलुङको हिरा, एमालेको मोती’ गण्डकी प्रदेशको कमाण्डर होलान् त यसचोटी ?

‘बागलुङको हिरा, एमालेको मोती’ गण्डकी प्रदेशको कमाण्डर होलान् त यसचोटी ?


काठमाडौं-नेकपा एमालेका प्रदेश अधिवेशनहरु चलिरहेका बेला गण्डकी प्रदेशमा पनि चहलपहल बढेको छ। एमाले गण्डकी प्रदेशकाे अधिवेशन यही असोज १५ र १६ गते पाेखरामा हुँदैछ।

हालसम्म भएका तीनवटा प्रदेशमा तीनवटै निर्वाचन प्रक्रियाबाट नेता छानिएकाले गण्डकी प्रदेश पनि त्यतैतर्फ लक्षित देखिन्छ। यसक्रममा अध्यक्ष पदका लागि विभिन्न आकांक्षीहरु मैदानमा देखिएका छन्।

एमाले बाग्लुङका अध्यक्ष एवं युवा नेता हिराबहादुर केसी गण्डकी प्रदेशको नेतृत्व लिन मोर्चामा अगाडि आउनुभएको छ। यसअघि अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष, तत्कालीनन प्ररायु संघको केन्द्रीय उपाध्यक्ष, हाल बागलुङ जिल्ला कमिटीको अध्यक्षको अनुभवबाट आफूले गण्डकी प्रदेश हाक्न सहज हुने उहाँको दाबी छ। ४६ वर्षीय केसी अनेरास्ववीयुको २०६० सालमा   केन्द्रीय कोषाध्यक्ष, धौलागीरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति र  स्ववीयु  काउन्सिलको उपाध्यक्ष भइसक्नु भएको हो। केसी माओवादीको वाइसिएलले एमालेमा माथि देशैभरी आक्रमण तिव्र बनाएका बेला महेश बस्नेत नेतृत्वको प्ररायु संघ र युथ फोर्सको केन्द्रीय उपाध्यक्ष भएर माओवादीको प्रतिरोध गर्नुभएको थियो २०६६ सालमा। केसी बागलुङ  निर्वाचन क्षेत्र नं १ बाट २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वार बन्नुभयो ।

पार्टीको १०औं महाधिवेशनमा युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बन्ने दौडमा हुनुहुन्थ्यो केसी । महाधिवेशनको एक साताअघि देखि ‘नेतृत्वमा युवा’ भन्ने नारा लिएर माहोल खडा गर्नुभएका केसी महाधिवेशनको मैदानबाट बाहिरिनुभयो। केसी पार्टीको कार्यकारी भूमिकामा रहने जिल्ला कमिटीको अध्यक्षमा सर्वसम्मत चयन हुनु भयाे । केसी २०७९ मा बागलुङ क्षेत्र नं १ (क) बाट उम्मेद्वार बन्नुभयो ।

पार्टी काममा सक्रियतापूर्व खटिरहेका केसीले यस पटक प्रदेश अध्यक्षको दाबी गर्नुभएको छ। ‘गण्डकी प्रदेशमा एमालेलाई पहिलो शक्ति बनाउने कार्ययोजना र जोश म मा छ । त्यसको सदुपयोग गरेर पार्टीपंक्तीलाई एकिकृत गर्छु’ केसीले याेबेलासँग भन्नुभयो, ‘मिसन ०८४ मा एमालेको सरकार बनाउन गण्डकी प्रदेशको योगदानलाई कुनै हालतमा कम हुन दिन्न।’

बागलुङ नगरपालिका ३ घर भएका केसीले आफ्ना नाममा सहमती कायम गर्न  प्रतिष्पर्धाको आकांक्षा राखेका कमरेडहरु  र नेतृत्वलाई पनि अनुरोध गर्नुभएको छ । ‘हालसम्म भएका अधिवेशनमा निर्वाचन भएको छ । तर गण्डकीमा युवाको नाममा सर्वसम्मतीको सन्देश दिउँ भन्ने मेरो माग छ’ केसीले भन्नुभयो।

 कुनै बेला केसीका नाममा एमालेमा एउटा आहान थियो ‘बागलुङको हिरा, एमालेको मोती’। केसी अहिले पनि त्यो मोती आफूसँग रहेको दाबी गर्नुहुन्छ । पार्टी केन्द्रबाट प्रदेशमा आएर अध्यक्ष हुने विषयलाई केसी पार्टी राजनीतिको ‘उल्टो यात्रा’ भन्नुहुन्छ । ‘राजनीतिको क्रोनोलोजिकल डेभलेपमेन्ट बटम टु टप हुन्छ’, केसी भन्नुहुन्छ, ‘टप टु बटम हुदैन । त्यसैले जिल्ला अध्यक्ष प्रदेश अध्यक्ष हुँदा सुल्टो यात्रा हुन्छ। केन्द्रीय, पोलिटव्यूरो सदस्यहरु तल झर्दा यसको सन्देश राम्रो जादैन ।’