अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साविक उमाविका शिक्षकहरुलाई मावि द्वितीय श्रेणीको दरबन्दीमा परिणत गरिने

साविक उमाविका शिक्षकहरुलाई मावि द्वितीय श्रेणीको दरबन्दीमा परिणत गरिने


काठमाडौँ-साविक उच्च माध्यमिक विद्यालयमा नियुक्त भई कार्यरत शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराइने भएको छ। त्यसका लागि ससद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन गर्ने सहमति भएको छ।

माध्यमिक शिक्षक युनियन नेपाल र शिक्षा मन्त्रालयबीच भएको सहमति अनुसार उनीहरुले उठान गरेका मागहरु सम्बोधनका लागि विधेयक संशोधन गरिने भएको हो । 

सहमति अनुसार साविकको उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिम कायम उच्च माध्यमिक विद्यालय र सो पश्चात माध्यमिक शिक्षामा रुपान्तरण भई हाल कायम माध्यमिक विद्यालयमा अनुदान र दरबन्दीमा मौजुदा शिक्षा ऐन, २०२८ को दफा ३९ को कानुनी व्यवस्था बमोजिम कार्यरत शिक्षकलाई माध्यमिक द्वितीय श्रेणीको दरबन्दी कायम गरी शत प्रतिशत आन्तरिक प्रतिष्पर्धाको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनेछ । त्यसका लागि प्रतिस्पर्धामा उमेर हद नलगाउने सहमति भएको छ। 

शिक्षा ऐन, २०२८ बमोजिम नियुक्त भएका शिक्षकलाई मौजुदा ऐन बमोजिम नै निवृत्तभरणको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनेछ। 

साविक उच्च माध्यमिकमा कार्यरत शिक्षकले प्राप्त गरेको अस्थायी अध्यापन अनुमति पत्रको सम्बन्धमा प्रस्तावित माध्यमिक द्वितीय श्रेणीको शिक्षकमा प्रतिष्पर्धा गर्ने सम्बन्धमा कानुनी प्रबन्ध गर्ने सहमति भएको छ।  

आन्तरिक प्रतिस्पर्धामा असफल हुने तथा परीक्षामा समावेश हुन नचाहनेको शिक्षकको हकमा सेवा अवधिको आधारमा अवकाश सुविधा उपलब्ध गराउने समेत सहमति भएको छ।  

विद्यालय संरचनाको माध्यमिक शिक्षालाई कक्षा ९–१० लाई जुनियर माध्यमिक र कक्षा ११–१२ लाई सिनियर माध्यमिक तहको व्यवस्था गर्ने गरी संशोधन गरिनेछ। 

त्यस्तै कक्षा ११ र १२ को सम्बन्धमा विद्यार्थी संख्याको आधारमा मापदण्ड निर्धारण गरी आवश्यक दरबन्दी कायम गर्ने सहमति भएको छ ।