काठमाडौं- वीरेन्द्रनगर नगरपालिकाको खानेपानी समस्या समाधानको लागि भेरी लिफ्ट आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको छ ।
विश्व बैंकको ४ अर्व सहयोगमा पहिलो चरणका लागि सार्वजनिक खरिद कार्यलय (पिपिएमओ) मार्फत ठेक्का आह्रवान भएको हो । वीरेन्द्रनगरमा लामो समय देखि भइरहेको खानेपानी समस्याको समाधानको लागि यो परियोजना कोशेढुंगा सावित हुने अनुमान गरिएको छ ।
भेरी नदीबाट पानी तानेर ल्याउने (लिफ्टिङ) विधीबाट परियोजना सञ्चालन हुन लागेको हो । नगरप्रमुख मोहनमाया ढकालका अनुसार आफ्नो चुनावी प्रतिवद्धता र घोषणा पत्रको आधारमा निर्वाचित भए देखि नै यस योजनालाई कार्यान्वयन गर्नका लागि अथक मेहनत परेको थियो । गतवर्षको भदौ १६ गते खानेपानी तथा सरसफाई मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका बीच परियोजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको थियो ।
ढकालले आफ्नो फेसबुक पेजमा यस सम्बन्धी जानकारी गराउदै आफ्नै कार्यकाल भित्र वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा एमालेबाट निर्वाचत ढकालले आफ्नो चुनावी घोषणा पत्रमा भेरी लिफ्टिङलाई प्राथमिकतामा राख्नु भएको थियो । प्रदेश राजधानी घोषणा भएसँगै बढ्दै आन्तरिक बसाँइसराइका कारण यहाँ खानेपानीको समस्या दिनहुँ बढी रहेको छ । यहाँ दैनिक २ करोड ३९ लाख ५२ लिटर खानेपानीको माग भए पनि त्यस अनुसारको आपूर्ती हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रममा भेरी लिफ्टिङ कार्यान्वयन गर्ने उल्लेख गरेको थियो ।
प्रतिक्रिया