अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार


झापा–गौरादह नगरपालिका–५ मा रहेको नमुना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमुना उद्योग सञ्चालन गरेका छन् ।

सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन् । यसमध्ये आचार उद्योग भने राम्रैसँग फस्टाएको छ । आचार बिक्रीबाट मात्र महिलाले वार्षिक रु छ लाख बढी आम्दानी गर्दै आएका छन् ।

सहकारीमा आबद्ध सेयर सदस्यले उत्पादन गरेका अर्ग्यानिक कृषिजन्य वस्तु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटे, अकबरे खुसार्नीलगायत विभिन्न प्रकारका आचार चार वर्षअघिदेखि उत्पादन गर्दै आएको नमुना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताउनुभयो । उहाँले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो ।

महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमुना सहकारी खेतीमा दैनिकजसो मुलुकका विभिन्न स्थानका सङ्घसंस्थाबाट भ्रमणमा आउन थालेपछि पर्यटकलाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमुना अचार उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सुरुमा छजना महिला मिलेर रु १८ हजार लगानीबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधासम्पन्न ल्याब र अचार बनाउने औजारसहित रु ३५ लाख बराबरको सम्पत्ति रहेको छ । उहाँले वार्षिक आचार बिक्रीमार्फत मात्र रु छ लाख आम्दानी हुने गरेको बताउनुभयो ।

महिलाहरूको जाँगर र पौरख देखेपछि उद्योगलाई भवन बनाउनका लागि गौरादह नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक सहयोग गरेका थिए । घरायासी कामधन्दा सकेर बचेको समय महिलाहरूले आचार उद्योगलाई दिँदै आएको उहाँको भनाइ छ । “नाफा बाँडेका छैनाँै, जति कमाउँछौँ त्यही उद्योगमा लगानी बढाइरहेका छौँ”, अध्यक्ष प्याकुरेलले भन्नुभयो, “यहाँ उत्पादित अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छाँै । जब लक्ष्यमा पुग्छौँ अनि मात्र मुनाफा बाड्छौँ ।”

महिलाहरूको मेहनत र परिश्रम देखेर एक वर्षका लागि सिट कन्ट्याक्ट नामक विदेशी एनजिओले सहज नेपालमार्फत आर्थिक सहयोग गरिरहेको उहाँले बताउनुभयो । नेपालले बजारीकरण, प्रयोगशाला सञ्चालन र कर्मचारीलगायत विभिन्न कार्यमा लाग्ने खर्चको ५५ प्रतिशत सहयोग गरिरहेको अध्यक्ष प्याकुरेल बताउनुहुन्छ ।

नेपालले आचार, पापड र दुग्ध परिकार उद्योगलाई नै जम्मा लगानीको ५५ प्रतिशतले आर्थिक सहयोग गरिरहेको छ । सहकारीले हाल चिप्स उद्योग, माछापालन, नमुना कडटम हाइरिङ, बागबानी खेती, गाई फार्म, नमुना फड्स् उद्योग, नमुना घरबास र नमुना खाद्य उद्योग सञ्चालन गरिरहेको छ ।

यहाँ उत्पादित सामग्री बिक्री वितरणका लागि कोसेली घर स्थापना गरिएको छ । सहकारी क्षेत्रका भ्रमणमा आउनुहुने आन्तरिक तथा बाह्य पर्यटकले दैनिक रु १० देखि १५ हजारसम्मको आचार कोसेली घरबाट खरिद गरेर लैजाने गरेका छन् ।

उद्योगमा उनीहरूले आफूमात्र नभएर, गाउँका अन्य महिलालाई समेत रोजगारी दिँदै आएका छन् । उहाँले भन्नुभयो, “यहाँ सञ्चालित उद्योग व्यवसायले हामी सदस्यलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेका छौँ ।” यहाँ उत्पादित सामान झापा, मोरङ, सुनसरी, इलाम, हेटाँैडा र काठमाडौँसम्म पुग्ने गरेको छ ।