अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिन पो रहेछ: रवि लामिछाने

संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिन पो रहेछ: रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालगञ्जका गुन्डा नाइके रिगल भनिने योग ढकाललाई संविधान दिवसकाे दिन दिनदहाडै मान्छे काट्नेलाई सरकारको सिफारिसमा राष्ट्रपतिले छाडेको भन्दै आपत्ति जनाउनुभयो। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकका क्रममा उनले नेपाली कांग्रेसनिकट तरुण दलका कार्यकर्तासमेत रहेका ढकाललाई सरकारले माफी मिनाहाको सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलले रिहा गरेकोमा आपत्ति जनाउनु भएको हो।

संविधान दिवसको दिन राष्ट्रपतिले आयोजना गरेको भोजलाई लामिछानेले मान्छे काट्नेलाई छाडेको खुसीयालीमा लगाएको भोजकोको संज्ञा दिनुभयो ।

‘राष्ट्रपतिले असोज ३ गते काठमाडौंमा रात्रिभोजको आयोजना गर्नु भएको थियो। त्यस दिन म सहभागी हुन पाइनँ। त्यही दिन रोल्पाको एक परिवारको घरमा ढिंडो खाँदै थिएँ’, उहाँले भन्नुभयो, ‘तर संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिनु पो रहेछ।’ 

उहाँले रिगललाई माफी मिनाहा दिन पहल गरेको नेपाली कांग्रेसमा आफू कहिल्यै संलग्न नभएकोमा खुसी व्यक्त गर्नुभयो।

‘म खुसी छु त्यो पार्टीको जुठो कहिल्यै खानु परेन’, सत्तारुढ कांग्रेसप्रति कटाक्ष गर्दै उनले भने, ‘हामीले ल्याएको संविधान दिवस त ज्यानमारालाई रिहा गर्न पो रहेछ। संविधान दिवसका दिन गरिएको उक्त निर्णय घोर विरोध गर्छु। दिउँसै मानिस काटेर आजीवन जेल गएकोलाई उन्मुक्ति दिने यो कस्तो दिवस, यो कस्तो सरकार?’

सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन घुमेर नेपाल फर्कने बित्तिकै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनुभएको छ। 

उहाँले चीन घुमेर फ्रेस भएर आउनुभएका प्रधानमन्त्रीले फर्कने बित्तिकै मूल्य बढाएको बताउनुभयो । ‘सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमणबाट मुड फ्रेस गरेर आउनु भएको रहेछ, तर आउँदा आउँदै जनताको जनताको मुड अफ गरिदिनुभयो मूल्यवृद्धि गरेर, तर फेरी मुड फ्रेस गराउने काम फिर्ता लिएर गर्नुभएको छ, पहिले म उहाँलाई धन्यवाद दिन चाहन्छु’, लामिछानेले भन्नुभयो। 

नेपाल आयल निगम आयात पनि आफैँ गर्ने, नियामक पनि आफैँ गर्ने, कर्मचारीलाई बोनस पनि बाँड्ने र फेरी आफू घाटामा छु भन्ने गरेको भन्दै उहाँले निगमको काम प्रति प्रश्न गर्नुभयो । स्वचालित मूल्य प्रणाली लागु गरेको भन्ने निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने नेपालमा मूल्य घटाउन आलटाल गर्ने गरेको प्रति उहाँले आपत्ति जनाउनुभयो ।