अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेभित्र कुनै गुटबन्दी र प्यानल छैन: गोकर्ण विष्ट

एमालेभित्र कुनै गुटबन्दी र प्यानल छैन: गोकर्ण विष्ट


काठमाडौं-नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमाले पार्टीमा आन्तरिक जनवादलाई कार्यान्वयनमा ल्याउने पहिलो पार्टी भएको बताउनुभएको छ। 

नेकपा एमालले सुरु गरेपछि मात्र नेपाली कांग्रेसल पार्टीको आन्तरिक जीवनमा निर्वाचनको अभ्यास गरेको उहाँले स्मरण गराउनुभयो। एमाले लोकतन्त्रको व्यवहारमा अभ्यास गर्ने पहिलो पार्टी भएको उहाँले दाबी गर्नुभयो। 

नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले सहमतिबाट नेतृत्व छान्ने कुरा उच्चस्तरीय लोकतान्त्रिक अभ्यास भएको बताउनुभयो । त्यसो नभए मत विभाजन प्रक्रियाबाट पनि नेतृत्व चयन गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो । ‘हामीले अधिकतम सहमतिको लागि प्रयास गर्ने छौँ’, उहाँले भन्नुभयो । 

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीलाई जोडेर पार्टीलाई ध्रुवीकरण गर्ने प्रयास गरिएको भन्दै एमाले त्यस कुरामा सचेत रहेको उहाँले बताउनुभयो । उहाँहरू बिच कुनै विवाद र अन्तर्द्वन्द्व नरहेको उहाँले प्रष्ट पार्नुभयो। 

पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनसक्ने बताउँदै विष्टले प्यानल बनाएर पार्टीको आन्तरिक चुनावमा जाने कुरा मान्य नहुने प्रष्ट पार्नुभयो । प्यानल बनाएर चुनाव लड्दा माथिदेखि तलसम्म पार्टी विभाजन हुने भएकोले त्यसो हुन नदिने उहाँले बताउनुभयो। ‘सहमतिको लागि अधिक प्रयास हुन्छ नभए स्वच्छ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन हुन्छ’, विष्टले भन्नुभयो। 

मिडियामा विभिन्न किसिमले प्रचार गरिएको भए पनि देखिने गरी एमालेको कुनै पनि प्रदेशका निर्वाचनमा प्यान नबनेको उहाँले बताउनुभयो । प्यान बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेज हुने कुरा पार्टी अध्यक्षले बताइसकेको उहाँले स्मरण गराउनुभयो। चस्मा जस्तो लगायो नजर त्यस्तै देखिने बताउँदै एमालेमा कुनै प्यानल नभएको उहाँले बताउनुभयो।  

नेकपा एमालेको अधिवेशन पार्टीको आन्तरिक जीवनको लागि मात्र नभएर देशको समृद्धि, विकास र राष्ट्रियता संरक्षणको लागि महत्त्वपूर्ण हुने विष्टले बताउनुभयो।