अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार जनताका होइन, दलालहरूको सरकार हो: शंकर पोखरेल

गठबन्धन सरकार जनताका होइन, दलालहरूको सरकार हो: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई गम्भीर आर्थिक संकटमा लैजाने काम वर्तमान गठबन्धन सरकारले गरिरहेको बताउनु भयो।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘यो वर्तमान गठबन्धन सरकार जनताको सरकार होइन, दलाल नोकर साहहरूको सरकार हो।’

उहाँले सरकारले दलाल नोकरसाहको हितमा काम गरिहरेको उहाँले बताउनुभयो।

अहिले देश चरम आर्थिक संकटमा फसेको उहाँको भनाइ छ। मुलुकमा जति बेला संकट पर्दछ त्यो संकटको निवारण गर्ने सामर्थ्य नेकपा एमालेले मात्र राख्ने बताउनुभएको छ।

महासचिव पोखरेलले देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनको लागि एमालेले नेतृत्व गरिरहेको बताउनुभयो। सिङ्गो नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने कामको अगुवाइ नेकपा एमालेले गरेको उहाँले दाबी गर्नुभयो। आज राष्ट्रलाई जोड्ने अभियानमा एमालेले अगुवाइ गरेको उहाँले स्मरण गराउनुभयो। 

आज एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दीको प्रयास भएको उहाँले बताउनुभयो। यस्तो बेलामा पनि देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा रहेको पोखरेलले प्रष्ट पार्नुभयो। 

सुशासनको कुरा गर्ने सरकारलाई भ्रष्टाचारको घटना छानबिन गर्न समेत प्रतिपक्षले दबाब दिनु परेको उहाँले स्मरण गराउनुभयो। जति बेला तस्करीको सुन पक्राउ पर्छ त्यति बेला गठबन्धनका नेताहरूको चरित्र उदाङ्गो हुने गरेको उहाँले उदाहरण दिनुभयो। 

गठबन्धन सरकारले देश बरबाद गर्ने काम मात्र गरेको उहाँले बताउनुभयो। अहिलेका प्रधानमन्त्री जनतालाई जस्तोसुकै समस्या परे पनि मस्तराममा रहेका उहाँको भनाइ छ । देश गम्भीर समस्यामा परेको बेला पनि प्रधानमन्त्री १५ दिनसम्म विदेश भ्रमणमा हिँड्नु भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘गठबन्धनको नेतृत्व जति बेलासम्म सरकारमा रहन्छ, जनताको भाग्य र भविष्य बरबाद हुँदै छ, त्यस अर्थमा यो सरकारलाई छिटो भन्दा छिटो बिदा दिनुपर्छ’ उहाँले भन्नुभयो।

जनताले रोजेको पार्टी नेकपा एमाले नै भएको उहाँले बताउनुभयो । तर जनताले रोजेको पार्टी अहिले प्रतिपक्षमा रहेको उहाँले सुनाउनुभयो । आउने निर्वाचनमा जनताले रोजेको पार्टीलाई सत्तामा पुर्‍याउने गरी मत दिनु पर्नेमा पोखरेलले जोड दिनुभयो।