अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्दैन: अध्यक्ष ओली

हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सक्दैन: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रियाको टुंगो लगाउन छाडेर युद्ध प्रक्रियाको सुरुवात गर्न लागिरहेको आरोप लगाउनुभएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले द्वन्द्वकालको घाउ उप्काएर प्रधानमन्त्रीले नयाँ द्वन्द्व चाहिरहेको बताउनुभयो।  

 अध्यक्ष ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताउनु भयो।

‘हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रुपमा घोषणा गर्नुभयो’, ओलीले भन्नुभयो, ‘भोज खाऊ, नाँचगान गर, वाजा बजाऊ, नाँच, त्यसका लागि छुट्टी, राष्ट्रिय बिदा घोषणा गर्नुभयो ।’

उहाँले यो बिदा घोषणा नमानिने भन्दै गत फागुन १ बाट माघ अन्तिम दिनमा एमालेको विरोधका बाबजुद फागुन १ लाई बिदा घोषणा गरेर प्रतिपक्षको कुरा नसुनिएको बताउनु भयो। 

उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भन्नुभयो, ‘हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउने ? बिदा दिने ? हिंसा सुरु गरेको दिन नाचेर भोज खाँदा सहिद परिवारको हेरचाह र पढाउने कुराको जिम्मा नलिने अनि तिनका अगाडी उत्सव मनाउने ?’

अध्यक्ष ओलीले फागुन १ लाई बिदा दिने निर्णय नसच्चाए त्यसविरुद्ध एमालेले कदम चाल्ने चेतावनी समेत दिनुभयो । उहाँले पीडितका घाउमा मल्हम लगाउनुपर्नेमा नुनचुक लगाएर प्रधानमन्त्रीले शान्ति प्रक्रियाको कुरा गर्न नसुहाउने बताउनु भयो । ‘यो स्वीकार्य छैन । फिर्ता गरिनुपर्छ । यदि फिर्ता हुँदैन भने उहाँले युद्ध त्यागेको छैन भन्ने बुझिन्छ । तपाई हिंशाको जयगान गाउदै हुनुहुन्छ’, ओलीले नेपालमा दिगो शान्ति स्थापनाका लागि यो शुभसंकेत नभएको पनि बताउनु भयो ।