काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारकाे औचित्य समाप्त भएकाे बताउनुभएकाे छ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयाे। वर्तमान सरकारले संसद् र जनता दुवैको सामना गर्न नसक्ने भन्दै उहाँले वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई क्षति हुने बताउनुभयाे।
अहिलेकाे नालायक गठबन्धन सरकारकाे अस्तित्व टिकाएर देश बर्बाद पारेर एकजुट हुन नसकिने उहाँले बताउनुभयाे। आफूले औपचारिक र अनाैपचारिक वार्ताका क्रममा परिस्थितिकाे गाम्भिर्यतालाई ध्यान दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक-पटक सुझाव दिए पनि आफ्नाे सुझाव नसुनेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे ।
सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्ने यहाँ सरकार हराएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विकास मात्रै हाेइन, विकास, ज्ञान र प्रविधिमा विभिन्न राष्ट्रहरु प्रतिष्पर्धामा छन्, तर अपसाेच यहाँ सरकार हराएकाे छ, राष्ट्र, जनता र संसद् छलिरहेकाे छ, सरकार प्रमुख खाेज्नुपर्ने अवस्था आएकाे छ, आखिर शासन चलाउन प्रधानमन्त्री चाहिने रहेनछ, अरु कसैले चलाइरहेकाे रहेछ।’
अहिलेकाे गठबन्धन सरकारले संसद् र जनता फेस गर्न नसक्ने भन्दै अध्यक्ष ओलीले बताउनुभयाे । देशमा सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको भन्दै उहाँले प्रधानमन्त्री नभए पनि देश चल्ने रहेछ भन्ने सन्देश पछिल्लाे समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै दिइरहनुभएकाे बताउनुभयाे ।
विकास निर्माणकाे अभियानलाई गठबन्धनका २ सरकारले अवरुद्ध पारेका उहाँले बताउनुभयाे। निर्माण सुरु भएका आयाेजना राेक्ने र भएका पनि चलाउने कुरामा सरकारले चासाे नदिएकाे अध्यक्ष ओलीले बताउनुभयाे।
नयाँ गेम चेञ्जिङ आयाेजना सञ्चालन र कार्यान्वयन गर्न पनि अहिलेकाे सरकार असफल भएकाे उहाँले बताउनुभयाे । संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि अध्यक्ष ओलीले आह्वान गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ? अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ, म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आग्रह गर्दछु ।’







प्रतिक्रिया