अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको बताउनु भयो।

सभाको चौथो अधिवशेन आज सुरु हुँदै छ। यसमा सरकारले दोस्रो पटक जारी गरेको आर्थिक र विनियोजन अध्यादेश टेबल गर्ने कार्यसूची तय गरिएको नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘शनिबार परेकाले मुख्यमन्त्रीले अघिल्लै दिन असोज १९ गते विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ।’ 

बैठकमा स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबुल गर्ने तय भएको बताइएको छ। 

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ। २० गते शनिबार परेकोले त्यो दिन बैठक राख्ने/नराख्ने भन्ने प्रदेशसभाले टुंगो लगाइसकेको छैन। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ। 

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक करार दिँदै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो।

हिउँदे अधिवेशनको बुधबारको पहिलो बेठकमा दलका नेताहरूले शुभकामना सन्देश दिने कार्यसूची तय भएको भण्डारीले जानकारी दिनुभयो।