अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति अस्थिरता देशको लागि अभिशाप: शंकर पोखरेल

राजनीति अस्थिरता देशको लागि अभिशाप: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण र सङ्कटग्रस्त रहेको बताउनुभएको छ।  

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले ती चुनौती सामना गर्न नेकपा एमालेलाई सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो।

राजनीतिक अस्थिरता देशको अहिलेको प्रमुख चुनौती रहेको पोखरेलको भनाइ छ। देश बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको उहाँले प्रष्ट पार्नुभयो। एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने शक्तिको रूपमा विकास गर्न अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘राजनीति अस्थिरता हाम्रा लागि अभिशाप बनिरहेको छ।’

समाजमा उत्पन्न सामाजिक अराजकता आजको अर्को ठुलो चुनौती रहेको पोखरेलले बताउनुभयो। नेपाल राष्ट्रलाई कमजोर बनाउन यस्ता क्रियाकलाप भएको उहाँले प्रष्ट पार्नुभयो। नेपाली समाजलाई कमजोर बनाउनको लागि धार्मिक, जातीय र सांस्कृतिक द्वन्द्व फैलाउने प्रयास भइरहेको पोखरेलको भनाइ छ। 

नेपाललाई सामाजिक सुरक्षामा आधारित लोककल्याणकारी राज्य बनाउने एमालेको अभियानलाई असफल बनाउन अदालतको सहारा लिएर एमाले नेतृत्वको सरकार ढाल्ने काम गरिएको पोखरेलले बताउनुभयो । एमाले जनताको जीवन सुरक्षा, देशको विकास, समृद्ध र राष्ट्रियताको पक्षमा गरेको काम देखेर एमालेलाई नियोजित रूपमा विभाजन गर्ने काम गरिएको उहाँले प्रष्ट पार्नुभयो । 

गठबन्धन सरकारले जनता र राष्ट्रलाई कुनै सकारात्मक सन्देश दिन नसकेको पोखरेलले बताउनुभयो । सरकार साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । समाजवादका नाममा दलाल पुँजीपतिहरूलाई संरक्षण गर्ने काम गठबन्धन सरकारले गरिरहेको उहाँले बताउनुभयो । 

नेकपा एमालेमा विभाजन ल्याउने नेताहरूको नाम जोडे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको पोखरेलले बताउनुभयो । प्यानलबाजी गर्ने लिष्ट बाँड्ने काम गरेर पार्टीमा विभाजनको बिउ नरोप्न उहाँले आग्रह गर्नुभयो ।