अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई शेखर कोइरालाको आग्रह: सच्चिनुस्, नभए सरकार छाड्नुस्

प्रधानमन्त्रीलाई शेखर कोइरालाको आग्रह: सच्चिनुस्, नभए सरकार छाड्नुस्


काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरजिम्मेवार कुरा गर्दै हिँडेको भन्दै अहिलेको सरकार सच्चिनुपर्ने बताउनु भएको छ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस गोरखाको शहीद लखन–काठमाडौं गाउँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हाे ।

डा. कोइरालाले भन्नुभयो, ‘देश अराजकताबाट गइरहेको छ। भन्न त हुँदैन, देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने म दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ। उहाँ देशको प्रधानमन्त्री हो कि पार्टीको सभापति हो। सभापति हो भने जे बोले पनि हुन्छ। देशको प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवार कुरा गर्नुहुन्छ।’

प्रधानमन्त्रीको पदमा बसेर बोलिएका अभिव्यक्तिले गोरखाका जनतासहित सिंगो देशका लागि नै दुर्भाग्य भएको उहाँले टिप्पणी गर्नुभयो।

उहाँले सच्चिन नसक्ने हो भने सरकार छाड्नुपर्ने पनि बताउनु भयो । ‘यो सरकार सच्चिनुपर्यो, सच्चिन सक्दैन भने छाड्नुपर्यो। नेपाली कांग्रेसले मात्रै ती अराजकताहरूलाई समाप्त पार्नसक्छ,’ उहाँले भन्नुभयो।

साथै, उहाँले विराटनगर पुगेर जातीय राज्य दिन्छु भनेर बोलेकोप्रति पनि असन्तुष्टि जनाउनु भयो।

‘विराटनगर पुगेर उहाँले ८४ को चुनावमा माओवादीलाई जिताउ, म जातीय राज्य दिन्छु भन्नुहुन्छ। लाग्छ उहाँको खल्तीबाट जातीय राज्य निकाल्दै दिने हो कि? किन सक्नुभएन उहाँले? पहिलो संविधानसभामा जातीय राज्य दिन?,’ कोइरालाको प्रश्न थियो।