अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका विरोधीहरू सत्य सुन्नुपर्‍यो भने उधुम मच्चाउँछन्: अध्यक्ष ओली

एमालेका विरोधीहरू सत्य सुन्नुपर्‍यो भने उधुम मच्चाउँछन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चाडबाडहरूको असाधारण महत्त्व भएको बताउनुभएको छ। 

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको दशैँ, तिहार लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले आम रूपमा आज लुगा लगाउनकै लागि दशैँ नै पर्खनु पर्ने अवस्था नरहेको ओलीले बताउनुभयो।

चाडबाड समाजमा मानीहरूको बीचको सम्बन्ध कायम गराउन महत्त्वपूर्ण हुने बताउनुभयो । रमाइला चाडहरूले प्रतिकूलता मानिसलाई रुवाई पनि दिने उहाँले बताउनुभयो । चाड अनुसार परिवेश परिस्थिति मेल खाएन भने मानिस दुःखी हुने उहाँको भनाई छ। ‘मेल खायो भने खुसी हुन्छ मान्छे’, उहाँले भन्नुभयो । 

दशैँमा घर फर्कने क्रम सुरु भएको बताउँदै ओलीले दशैँमा घर फर्कन लागेका एमाले कार्यकर्तालाई पार्टीको अभियान पनि लिएर जान आग्रह गर्नुभयो । ‘नेकपा एमाले घर फर्कँदै छ, त्यही बसमा जाने होला, त्यही प्लेनमा जाने होला, त्यही गाडीमा जाने होला, अरू जसरी नै फर्कने हो, तर अरू जसरी फर्किए पनि, अरू जस्तै प्लेनकै टिकट काटेर जाउन्, बसकै टिकट काटेर जाउन्, आफ्नै गाडी लिएर जाउन्, जे हुन्छ, जसरी गए पनि अरू जानु र नेकपा एमाले जानुमा भिन्नता हुनुपर्छ’, ओलीले भन्नुभयो।

एमाले घर फर्किएको र एमाले दशैँ मनाउन घर गएको फरक हुनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘भ्रमको तुवाँलो हटाउने कसरी, सत्यको दियो जलाउने कसरी, नपुगेका स्थानमा प्रकाश पुर्‍याउने कसरी, चेतनाको प्रकाश कसरी पुर्‍याउने, असंगठित मानिसलाई संगठित गर्ने कसरी, अलमलिएकालाई बाटो देखाउने कसरी ?’, ओलीले भन्नुभयो । 

चाडबाड नराम्रो काम गरेर होइन, राम्रो काम गरेर बिताउनु पर्नेमा उहाँले जोड दिनुभयो । राम्रा खुसीयालीका चाडमा नराम्रा काम नगर्न उहाँले आग्रह गर्नुभयो । ‘तास खेलेर समय बरबाद किन गर्छन् मानिसले त्यो म बुझ्दिन’, उहाँले भन्नुभयो ।  

अध्यक्ष ओलीले विरोधीले आफूले बोलेको कुरालाई समातेर गाली गरेको गरेकै रहेका बताउनुभयो । ‘तिनीहरूले सत्य सुन्नै हुँदैनन्, सत्य सुन्यो भने कस्तो निन्द्रा नलागेको होला त तिनीहरूलाई, कस्तो खाना नरुचेको होला, अचम्म लाग्छ, सत्य सुन्नु पर्‍यो भने तिनीहरूले कान टकटक्याउने मात्र होइन, उधुम मच्चाउँछन्’, उहाँले भन्नुभयो । 

अहिले देशको राजनीतिमा कोही पनि ठिक छैनन् भन्ने खालको प्रचार गर्न खोजिएको भन्दै ओलीले आलोचना गर्नुभयो । राजनीति नै चाहिँदैन भन्ने खालका कुरा भएको उहाँले बताउनुभयो । ‘यो देशमा सबै बदमासै बदमास जन्मेका छन् कि, सद्दे मान्छे पनि जन्मन्छ यो देशमा ? यो देशमा सबै भ्रष्टाचारी हुन्छन् कि सदाचारी पनि हुन्छन् कोही ?’ उहाँले भन्नुभयो ।  

समाज ठिक ठाउँमा लानको लागि राजनीति आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । तर राजनीतिको उद्देश्य जनताको, देशको र मानव जातिको सेवा हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

एमाले सामाजिक र सचेत प्राणी भएकोले समाजलाई ठिक बाटोमा सचेतता पूर्वक अघि बढाउने काममा लाग्ने ओलीले बताउनुभयो । उहाँले सबै नेता कार्यकर्तालाई त्यसै गरी काम गर्न निर्देशन दिनुभयो ।