नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक पदम गिरीले इजरायलमा हमासको आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग संवाद गर्नुपर्ने बताउनु भएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक गिरीले सो कुरा बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय। देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्यो। हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्यो। उनीहरूलाई उद्धार गर्नुपर्यो। उनीहरूको उपचारको काम तुरुन्त हुनुपर्यो। यहाँका प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग सिधासिधा छलफल गर्नुपर्छ भन्ने म ठान्छु।’
‘यतिबेला म सरकारलाई आग्रह गर्न चाहन्छु–नेपाली दाजुभाइ दिदीबहिनीहरु आज विदेशमा विभिन्न काम र उद्देश्यले त्यहाँ हुनुहुन्छ। आज त्यहाँ यति ठूलो विपत्ति आइपरेको छ। उद्धारका निम्ति, उहाँहरूको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन,’ गिरीले भन्नुभयो, ‘यो देशमा सरकार छ। मुलुकमा राज्य छ। ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु। सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन ।’
उहाँले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो। विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो।
प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाईते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो।
प्रतिक्रिया