अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस प्रदेश अधिवेशनकाे तयारी पूरा, अध्यक्ष ओलीद्वारा उद्घाटन हुने

एमाले मधेस प्रदेश अधिवेशनकाे तयारी पूरा, अध्यक्ष ओलीद्वारा उद्घाटन हुने


काठमाडौं-नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। भोलि मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले सचिव एवं मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि मध्याह्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नुहुनेछ।’

पार्टी अध्यक्ष ओलीले बुधबार नै मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को शिलान्यास गर्नुहुनेछ।

मधेस प्रदेशमा एमालेका ६६ हजार २०० पार्टी सदस्य रहेको भट्टराईले बताउनु भयो। १३६ स्थानीय तहबाट १ हजार २१ जना प्रतिनिधि चुनिएर आएका छन्।

अधिवेशनले २३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।

मधेस प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म तीन जनाले आकांक्षा राखेको एक प्रतिनिधिले बताउनु भयो। उहाँका अनुसार धनुषाका लक्ष्मीनारायण यादव आफ्नो पक्षमा समर्थन जुटाउन कस्सिएका छन्। उहाँ प्रदेश सदस्य हुन्।

त्यस्तै सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले पनि अध्यक्षमा आकांक्षा राखेको ती प्रतिनिधिले बताउनुभयो।

प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उहाँ दोहोरिन पाउँदैनन्। एमालेले यसअघि नै सांसद, जनप्रतिनिधिलाई उम्मेदवार बन्न नपाउने सर्कुलर मातहत कमिटीमा पठाइसकेको छ।

प्रदेश अध्यक्षको आकांक्षीको रूपमा अहिलेका उपाध्यक्ष रेवती पन्त पनि हुनुहुन्थ्यो। झलनाथ खनाल प्रतिष्ठानका पूर्वअध्यक्ष रहेका उनीविरूद्ध सर्प पालनका नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएपछि उहाँ प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

बाराका पुरूषोत्तम पौडेल, सप्तरीका सुमनराज प्याकुरेलले पनि चाहना राख्न भएको थियो। तर, उहाँहरू प्रतिनिधि आएनन्। 

‘पोलिटब्युरो  र केन्द्रीय सदस्यहरू प्रतिनिधि नआएपछि तलै प्रतिस्पर्धा हुन लागेको हो,’ अर्का एक प्रतिनिधिले बताउनु भयो।