अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसको समृद्धिका लागि एमाले नेतृत्वको सरकार चाहिन्छ: योगेश भट्टराई

मधेसको समृद्धिका लागि एमाले नेतृत्वको सरकार चाहिन्छ: योगेश भट्टराई


जनकपुर-नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनु भएको हो।

‘सिंगो मधेशलाई विकास निर्माण र सामाजिक न्यायको प्रत्याभुति गर्ने, मधेशलाई आर्थिक हिसाबले समुन्नत गर्ने, सामाजिक हिसावले समन्नुत गर्ने, यहाँ भएका विभेदहरुलाई अन्त्य गर्ने र समग्रतामा समृद्धि हासिल गर्ने काम नेकपा एमालेको नेतृत्वबाट मात्रै सम्भव छ। किनकी हामीले गएको पाँच वर्ष कुनै पार्टीको मुख्यमन्त्री भएको सरकार हेरिसक्यौँ। अहिले एक वर्ष पनि हेरिसक्यौँ,’ उहाँले भन्नुभयो, ‘यो साडे ६ वर्षको अवधिमा मधेसमा एमालेको मुख्यमन्त्रीसहित बहुमत हुनुपर्छ भन्ने जनताको अनुभुति हामीले प्राप्त गरेका छौँ। त्यसकारणले २०८४ सालका लागि नेकपा एमालेको सरकार यो हाम्रो नारा हुन्छ। यही नाराको सेरोफेरोमा हामी सबै मधेशी समुदायलाई गोलबन्द गर्नेछौँ।’

सचिव भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रूपमा एमाले तन्दुरुस्त बन्ने बताउनु भयो। उहाँले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताउनु भएको हो।

सचिव भट्टराईले नेकपा एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘चाडपर्वहरू सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ। त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ। सबै देशभरका पालिकाको ७५३ वटाकै। त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ। देशभरका सबै वडाको। त्यसपछि टोल अधिवेशन हुन्छ। चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ। संगठनात्मक हिसाबले। मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ। एमालेको मुख्यमन्त्री चाहिन्छ। १३६ पालिका एमालेको प्रमुख चाहिन्छ। प्रधानमन्त्री एमालेको चाहिन्छ। मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छौँ । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसाबले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछौँ ।’

एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो।

जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले बताउनु भयो। उहाँले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनोट गरिने जानकारी दिनुभयो।