अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

……त्यसपछि केपी ओलीलाई १४ वर्ष जेल हालियो

……त्यसपछि केपी ओलीलाई १४ वर्ष जेल हालियो


    

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ५० वर्ष अघि गिरफ्तार भएको दिनको स्मरण गर्नुभएको छ ।
हिजो साँझ फेसबुकमा उक्त दिनको स्मरण गर्दै अध्यक्ष ओलीले २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनवारीबट कोपुवा जाँदै गर्दा बाटोमा पक्राउ परेको स्मरण गर्नुभएको । झापा आन्दोलनबाट उदाँउदै गरेका ओली संगठन विस्तारका क्रममा रौतहट जाँदा बाटोबाट पक्राउ पर्नुभएको हो । त्यसबेला उहाँ कोअर्डिनेसन केन्द्र(को.के.)को सचिव हुनुहुन्थ्यो । को.के. पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरेर झापाली युवाहरुले गठन गरेको नयाँ कम्यूनिष्ट पार्टी थियो ।
आफू पक्राउ परेपछि आफ्ना दुर्दिन सुरु भएको उल्लेख गर्नुभएको छ । ओलीलाई पञ्चायती सत्ताले अराष्ट्रिय तत्व (अत)को आरोप लगाउदै पक्राउ गरेर १४ वर्ष जेल हालेको थियो । यस क्रममा आफूलाई २५ वटा जेल सारिएको स्मरण गर्नुभएको छ । उहाँलाई गौर,चन्द्रगढी,पोखरा,स्याञ्जा,वीरगञ्ज लगायतका जेलहरुमा राखिएको थियो । ‘चरम यातना नेल हत्कडी,गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा,अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ ’ अध्यक्ष ओलीले लेख्नु भएको छ ‘ती दिन महीना र वर्षहरु ,त्यो समय,त्यो प्रणाली र त्यसबेलाका पात्रहरु ,भोगाइहरु फिल्मको रिलजस्तो याद आइरहन्छन् ।’
अध्यक्ष ओलीले आफ्नो फेसबुक पेजमा त्यसबेलाका साथी कालुराम खम्बू (के.आर खम्बू) सँग खिचेको फोटो शेयर गर्दै अध्यक्ष ओलीले ५० वर्ष अघिको यो क्षणको जीवन्त दृष्यको अनुभव वाँड्नु भएको छ । खम्बू अहिले प्रतिनिधीसभाका सदस्य हुनुहुन्छ ।
२०३० असोज २३ गते पक्राउ पर्नु भएका ओलीलाई तत्कालिन सरकारले कठोर यातनापछि २०४४ सालमा विना सर्त रिहा गरेको थियो । ओलीलाई सर्त रिहा हुन सरकारले पटक पटक आग्रह गरेको थियो । रिहा हुनु भन्दा केही केही महिना अघि ओलीलाई एकरात गाडीमा हालेर सिधैं प्रधानमन्त्री निवास बालुवाटार पुर्याइएको थियो । तत्कालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठले मन्त्री बनाउने आश्वासन दिंदै पञ्चायतलाई सहयोग गर्ने शर्तमा रिहा हुन आग्रह गर्नु भएको थियो । तर ओलीले उक्त शर्त अस्विकार गर्नुभयो । त्यसको केही महिनापछि उहाँलाई विना शर्त रिहा गरिएको थियो । ओली समकालिन नेताहरुमा पञ्चायती निरंकुशताका विरुद्ध,लोकतन्त्र प्राप्ती र मानवअधिकार रक्षाका लागि सबभन्दा लामो समय जेल बस्ने नेता हुनुहुन्छ ।