अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान माथि कांग्रेसले पनि हमला गरिरहेको छ: पृथ्वीसुब्बा गुरुङ

संविधान माथि कांग्रेसले पनि हमला गरिरहेको छ: पृथ्वीसुब्बा गुरुङ


काठमाडौं-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शान्तिपूर्ण जनक्रान्तिबाट राजतन्त्र समाप्त भएकोले अब त्यो फेरी फर्कन नसक्ने बनाउनुभएको छ। 

नेकपा एमाले म्याग्दीले पार्टीको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई दिन बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अहिले राजतन्त्र फिर्ताको माग राख्दै सडक र संसदमा कुरा उठ्ने लोकतन्त्रवादी शक्तिको लागि ठूलाे चुनौती भएको बताउनुभयो।

अहिले संघीयता चाहिँदैन भन्दै एकथरिले नारा लगाइरहेका बताउँदै गुरुङले नेपालको बहुसामाजिक, बहुसांस्कृतिक र बहुधार्मिक समाजलाई सम्बोधन गरी सामाजिक सद्भाव कायम गर्न संघीय शासन व्यवस्थामा गएको उहाँले स्पष्ट पर्नुभयो। उहाँले भन्नुभयो, ‘समावेशिता सहितको संघीय शासन प्रणालीमा नेपाल गएको उहाँले बताउनुभयो। ‘तर त्यस माथि आज हमला भइरहेको छ।’

प्रतिनिधि सभा बैठकमा नै कांग्रेसका एक सांसदले संविधान विपरीत समाजवादी बाटोमा जाँदा मुलुक बिग्रिने भएकाले दलाल पुँजीवादी बाटोमा नै हिँड्नु पर्ने विचार राखेको उहाँले सुनाउनुभयो। संविधान माथि अहिले चौतर्फी हमला भइरहेको बताउँदै उहाँले त्यसमा कांग्रेस पनि संलग्न रहेको दाबी गर्नुभयो। ‘संविधान माथि  कांग्रेसले अप्रत्यक्ष रूपमा हमला गरिहरेको छ’, उहाँले भन्नुभयो। 

यस्तो अवस्थामा नेकपा एमाले बलियो भएन भने संविधान र देशको रक्षा हुन नसक्ने उहाँले बताउनुभयो। यसको लागि एमाले बलियो हुनु पर्नेमा उहाँले जोड दिनुभयो। अब प्रदेश अधिवेशन सकिएकोले अधिवेशनको बेला चुनावका सबै कुरा बिर्सिएर एमाले एकजुट भई अघि बढ्नु पर्ने उहाँले बताउनुभयो। 

नेकपा एमालेका विरुद्ध सबै शक्ति लागेको कुरा नबिर्सन उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। त्यसैले नवनिर्वाचित नेतृत्वले गम्भीर भएर काम गर्नु पर्ने गुरुङले बताउनुभयो। पार्टी भित्रको आन्तरिक समस्या एक्लै समाधान गर्न नसकिने बताउँदै गुरुङले समस्यालाई बैठकमा राख्न  र पार्टीका सबै कुरा संगठनमा सेयर गर्न सुझाव दिनुभयो। ‘सबै चिजलाई परिचालित गर्नु पर्‍यो, सबै सदस्यलाई परिचालित गर्नु पर्‍यो’, गुरुङले भन्नुभयो।