अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको सत्ता प्राप्तीका लागि रातभरी टिक्लान् त ‘विद्रोही काँग्रेस ?’

कोशीको सत्ता प्राप्तीका लागि रातभरी टिक्लान् त ‘विद्रोही काँग्रेस ?’


विराटनगर -कोशी प्रदेश संसदीय दलमा नेपाली काँग्रेस फूटेको छ । काँग्रेसका २९ जना साँसद मध्ये ९ जना साँसद एमालेतिर लागेका छन् भने २१ जना साँसद गठबन्धनतिर । कोशीको सरकार बनाउने भत्काउने खेलको अन्तिम श्रृंखलाको रुपमा काँग्रेस दुई भागमा विभाजन भएको हो ।
काँग्रेस नेता शेखर कोइराला पक्षका साँसद केदार कार्कीको नेतृत्वमा नौ जना साँसदले पार्टी केन्द्रको निर्देशन विपरित एमालेसँग मिलेर सरकार बनाउन दाबी पेश गरेका छन् । सो समुहका नेता केदार कार्कीलाई मूख्यमन्त्रीका लागि एमालेका उपसभामुख बाहेक ३९ जना साँसदले समर्थन सहितको हस्ताक्षर बुझाएका छन् ।
पाँचदिन अघि एमालेका हिक्मत कार्कीले मूख्यमन्त्री पदबाट राजिनामा दिएपछि काँग्रेसभित्र संसदीय दल फूटाउने कसरत व्यापक भएको थियो । यस कसरतमा नेता शेखर कोइराला सक्रिय हुनुहुन्थ्यो । कोइरालाको गृहनगरमा राजधानी रहेको कोशी प्रदेशमा आफू पक्षीय कार्कीलाई मूख्यमन्त्री बनाउन उहाँ उपयुक्त मौकाको खोजीमा हुनुहुन्थ्यो । कोशीमा सरकार बनाउने संविधानको धारा १६८ को उपधारा २ र ३ को प्रयोग भइसकेपछि धारा ५ अनुसार सरकार बनाउन प्रदेश प्रमुखले असोज २१ गते आह्वान गर्नु भएको थियो । धारा ५ अनुसार साँसदको हैसियतमा बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर प्रदेश प्रमुखसँग दाबी गर्नु पर्दछ ।
आज माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले ४७ जना र काँग्रेसका केदार कार्कीले ४७ जना साँसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । यहाँ राप्रपा तटस्थ बसेको छ । राप्रपासँग ६ जना साँसदहरु छन् । काँग्रेसको एकचिराले एमालेको समर्थनमा मूख्यमन्त्री बन्ने दाबी पेश गरिसकेको छ भने अर्को चिराले माओवादीलाई समर्थन गरेको छ ।
अब कोशीको सत्ता खेल के होला त ? ‘कोशीमा खेल समाप्त भइसकेको छ ’ बरिष्ठ पत्रकार यज्ञ शर्मा भन्नुहुन्छ ‘एमालेको समर्थन पाएका काँग्रेसका ८ जना साँसदले इन्द्र आङ्बोले बुझाएको हस्ताक्षर फरक प्रयोजनमा गरिएकोले त्यसको अर्थ नहुने बरु अहिले सशरीर उपस्थित भएर दाबी पेश गरेकोले यसलाई नै आधिकारिक हुने पत्र समेत बुझाएकाले केदार कार्कीलाई आजै मूख्यमन्त्री नियुक्त गर्नुपर्ने हो ।’
तर प्रदेश प्रमुख पर्शराम खापुङले मूख्यमन्त्री नियुक्त गर्न आज ‘होल्ड’ गर्नु भएको छ । यसको एउटा कारण आङ्बोले पेश गरेको हस्ताक्षरलाई मानिएको छ । दाबी पेश गरेका मध्ये एकातिर मात्र हस्ताक्षर हुनुपर्नेमा काँग्रेसका ८ साँसदको हस्ताक्षर दुवैतिर देखिएपनि आफ्नो पुरानो हस्ताक्षर दुरुपयोग भएको काँग्रेसका विद्रोहीहरुको भनाइ छ । उनीहरुले प्रदेश प्रमुखले शसरीर बोलाउने बित्तिकै यो कुरा पुष्टी हुने र कार्की मूख्यमन्त्रीमा नियुक्त हुने दाबी गर्दछन् ।
तर पत्रकार शर्मा समाप्त भइसकेको खेलको समय थपेर प्रदेश प्रमुखले नयाँ खेलको सुरुवात गर्न लागेको आशंका व्यक्त गर्नुहुन्छ । ‘रात रहे अग्राख पलाए भने जस्तै भोलीसम्ममा विद्रोही काँग्रेस अडिने हुन् कि होइनन् भन्न सकिन्न ’ शर्मा भन्नुहुन्छ ‘पार्टी सभापति,प्रधानमन्त्री र गठबन्धनको दबाब रातभरी झेल्न सके भने कार्कीको नियुक्ति भोली कसैले रोक्न सक्दैन । केन्द्रको दबाब वा प्रलोभनमा परे भने स्थितीले पल्टा खान्छ । ’