अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको मुख्यमन्त्री को ?, प्रदेश प्रमुखले कानुनी परामर्शपछि आज नियुक्ति गर्दै 

कोशी प्रदेशको मुख्यमन्त्री को ?, प्रदेश प्रमुखले कानुनी परामर्शपछि आज नियुक्ति गर्दै 


काठमाडौँ–कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श थाल्नुभएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कानुनी परामर्श गरेर आज साँझ ५ बजेसम्म मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । 

संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेदेखि सकिँदैछ । सोही समयभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी थालिएको हो । 

हिजो मुख्यमन्त्रीमा दुईजनाले दाबी पेस गरेपछि प्रदेश प्रमुखले आज परामर्श गरेर नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुहुने बताइएको छ ।  

सत्ता गठबन्धनबाट नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाउनुभएको छ ।

यस्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।  

कार्कीले आफूसहित कांग्रेसका ९ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । 

कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने व्याख्या छ ।

कांग्रेसका ८ जना सांसदले इन्द्र आङ्बोले बुझाएको हस्ताक्षर फरक प्रयोजनमा गरिएकोले त्यसको अर्थ नहुने बताइएको छ । सशरीर उपस्थित भएर दाबी पेस गरेकोले यसलाई नै आधिकारिक हुने पत्र समेत बुझाएकाले  कार्की नै मुख्यमन्त्रीमा नियुक्त हुने जनाइएको छ ।

यसबीचमा प्रदेश प्रमुखले नयाँ खेल खेल्ने पनि कतिपयले आशंका गरेका छन् । कार्कीले आफ्नो दाबी पेस फिर्ता नलिए र प्रदेश प्रमुखले कुनै खेल नखेले कार्की नै मुख्यमन्त्रीमा नियुक्त हुने बताइएको छ ।