अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले दाउपेचको राजनीति गर्‍यो, इमानदार भएसम्म कार्कीलाई समर्थन गर्छौं: शंकर पोखरेल

गठबन्धनले दाउपेचको राजनीति गर्‍यो, इमानदार भएसम्म कार्कीलाई समर्थन गर्छौं: शंकर पोखरेल


सिन्धुली–नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की इमानदार भएसम्म एमालेको समर्थन रहिरहने बताउनु भएको छ।

प्रेस चौतारी नेपाल सिन्धुली जिल्ला समितिले आज सिताराम पार्टी प्यालेस सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा ठूलो दलको हैसियतमा शासन गर्ने अधिकार नेकपा एमालेलाई भए पनि गठबन्धन दलहरूले सरकार ढालेर सरकारबिहीनतातर्फ धकेलेपछि कांग्रेसका केदार कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको बताउनु भएको हाे।

महासचिव पोखरेलले एमाले सत्ताको हतारोमा नरहेको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘केदार कार्की इमानदारीतापूर्वक अगाडि बढेसम्म एमालेको साथ रहन्छ। भोलि एमाले मन्त्रिपरिषद्मा सहभागी हुने वा नहुने कुरा मुख्यमन्त्रीको भूमिकामा भर पर्छ। हामीले स्वभाविक रुपमा वैकल्पिक सरकारका लागि साथ दिएका छौं। यदी उहाँ गठबन्धनतिर नफर्किए नेकपा एमालेले साथ दिन्छ।’

संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतले गरेको पटक–पटकको फैसलाका विभिन्न नजिरहरूका आधारमा कोशीमा नयाँ सरकार गठन भएको उहाँले बताउनु भयो । यो सरकार गठन भएसँगै कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न एमाले सफल भएको महासचिव पोखरेलको भनाइ छ। यद्यपि, मुख्यमन्त्री कार्की आफ्नो इमानमा चल्नुपर्ने उहाँले बताउनु भयो।

वर्तमान सत्ता गठबन्धन असफल भएको परिप्रेक्ष्यमा कोशीले एउटा उदाहरण दिनुपर्ने भन्दै महासचिव पोखरेलले एमालेलाई सत्ताको चासो नभए पनि जनताको जनजीवीकाको चिन्ता रहेको स्पष्ट गर्नुभयो। अहिले पनि जनताको समस्या समाधानमा सरकार केन्द्रित होस् र गठबन्धनले पूरा अवधि साशन गरोस् भन्ने एमालेको चाहना रहेको उहाँको भनाइ छ ।

एमाले आगामी निर्वाचनमा राम्रो परिणामा ल्याउने रणनीतिअनुरुप पार्टीका विभिन्न अभियानहरूमा केन्द्रित रहेकाले सत्तामा चासो नरहेको उहाँले प्रष्ट पार्नुभयो।

महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गर्नुभयो ।

‘नेपाली कांग्रेस कसरी अघि बढ्न चाहन्छ भन्ने कुरामा भर पर्छ। आज तीन जना (प्रचण्ड, देउवा र कोइराला) को वक्तव्य आएको छ। उहाँहरूले कोशीका कारण केन्द्रमा केही हुँदैन भन्नुभएको छ। त्यो घोषणामा उहाँहरू कायम रहनुस्,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले हामीलाई सत्ताको कुनै हतारो छैन। हामी मिसन ८४ मा छौं। मात्रै चिन्ता जनताको समस्यालाई गठबन्धनले सम्बोधन गर्न सकेन भन्ने मात्रै हो।’