अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र माओवादी नमानेपछि केदार कार्कीलाई साथ दियौं: हिक्मत कार्की

कांग्रेस र माओवादी नमानेपछि केदार कार्कीलाई साथ दियौं: हिक्मत कार्की


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ‘विद्रोही’ सांसदहरूलाई साथ दिइएको बताउनु भएकाे छ।

प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममा: कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताउनु भएको छ।

‘कांग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन। माओवादीले पनि हाम्रा कुरा सुनेन। त्यसैले कांग्रेसका विद्रोहीलाई साथ दिएका हौं,’ उहाँले भन्नुभयो, ‘गठबन्धनले संघीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षप्त भयौं। त्यसैले कांग्रेसका कार्कीलाई समर्थन गरिएको हो।’

नेता कार्कीले आफूहरुले गल्ती नगरेको र संविधान अनुसार नै काम गरेको बताउनु भयो। ‘कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। ‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ। यो जरूरी पनि छैन। यो परिस्थिति कसले बनायो?,’ उहाँले प्रश्न गर्नुभयो, ‘एमालेले गलत गरेको छैन।’

एमाले कोशी संसदीय दलका नेता कार्कीले पटक-पटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको पनि बताउनुभयो। उहाँले प्रदेशमा ५ पटक मुख्यमन्त्रीका लागि विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस् भनेर एमाले लागेको बताउनुभयो। ‘अब त्यस्तो स्थिति आउँदैन,’ उहाँले भन्नुभयो, ‘मध्यावधिमा जाने जनताको चाहना छैन। यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन।’

सरकार गठनको क्रममा संविधानको धारा १६८ (५) मा पुग्ने परिस्थिति आउनै दिन नहुने पूर्वमुख्यमन्त्री कार्कीले बताउनुभयो।