अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीका नेता-कार्यकर्तालाई अनुशासित हुन अध्यक्ष ओलीको निर्देशन

पार्टीका नेता-कार्यकर्तालाई अनुशासित हुन अध्यक्ष ओलीको निर्देशन


काठमाडौंनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ। पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको उहाँको भनाइ छ। 

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताउनुभयो। पार्टीनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले बुधबार काठमाडौँमा दसैँ-तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

पार्टीभित्र आफूलाई केही देखाउन अनुशासनहीनताको सहारा लिने, उच्छृङ्खलताको सहारा लिने प्रवृत्ति बढिरहेको चर्चा गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढ्ने बताउनुभयो। अध्यक्ष ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भूतपूर्व सैनिक तथा प्रहरीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘समस्याहरू छन् हामीसँग। देशमा समस्या छ । ती समस्याको समाधान हामी गर्दै जानेछौँ। तर हामी जिन्दगीलाई खुसीयालीपूर्ण, उत्साहपूर्ण, उमङ्गका साथ मनाउँदै, अगाडि बढाउँदै अघि जानेछौंं ।’ देशको समस्या समाधान गर्न एमाले पार्टी रहेको उहाँले चर्चा गर्नुभयो। 

आज सिङ्गो एमाले आफ्ना अवयवसहित सक्रिय रहेको उहाँले बताउनुभयो। ‘जस्तो हाम्रो शरीरमा अवयवहरू सक्रिय हुन्छन्। त्यस्तै एमाले पनि सम्पूर्ण रूपले सक्रिय छ। सिङ्गो शरीर पनि गतिशील छ। एमाले पनि त्यसैगरी गतिशील छ’ उहाँले भन्नुभयो, ‘अहिले समाजमा एउटा अराजकता बढेको छ। असहिष्णुता बढेको छ। त्यसले समाजलाई परस्परमा घृणा फैलाउने कामहरू भइराखेको छ । त्यसले एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइराखेको छ।’

अनुशासन, विधि र प्रक्रियाको सहयोगले मात्र समाज सभ्य हुने उहाँले बताउनुभयो। प्रकृति पनि अनुशासनमा चलेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रकृतिमा एक किसिमको अनुशासन छ । प्रकृति बिलकुल अनुशासनमा बसेको छ । हामी कसैकसैलाई सदस्यता लिएको भोलिपल्ट माथिल्लो पदमा पुगुँजस्तो लाग्ने रहेछ, जुन गलत छ।’ बिरुवा रोपेको भोलिपल्टै रुख नहुने बताउँदै अध्यक्ष ओलीले त्यसले प्रकृतिको नियम पालना गर्दै रुख हुनेगरेको बताउनुभयो। हतार गर्दैमा रुखले फल नदिने उहाँले बताउनुभयो। 

अध्यक्ष ओलीले मुलुकमा समस्याहरू रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भइरहेको बताउनुभयो । एमालेले मुलुकको समस्या समाधानका लागि सिङ्गो शक्तिलाई परिचालन गरिरहेको उहाँको भनाइ छ।