अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७२ वर्षको उमेरमा नागरिकता

७२ वर्षको उमेरमा नागरिकता


अछाम-अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभयो ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहनुभएकाले साउदले नागरिकता लिन पाउनुभएको थिएन। बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले सुनाउनुभयो। आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उहाँको भनाइ छ। “ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु”, उहाँले भन्नुभयो।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ। जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ।