अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित, अन्य पदाधिकारीमा को-को ?

एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित, अन्य पदाधिकारीमा को-को ?


काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी विजयी हुनुभएको छ। नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा डा. केसी १ हजार ३७८ मतसहित विजयी हुनु भएको हाे ।

उहाँका निकटतम् प्रतिस्पर्धी राजेन्द्रकुमार शर्मा आरकेले १ हजार २८१ मत, महेशकुमार श्रेष्ठले १ हजार २२५ मत र रविना थापाले ४७ मत पाउनु भयो।

यसैगरी, उपाध्यक्षमा अस्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ (१५६०), यूकेबाट डा. हेमराज शर्मा (२२६५), मलेसियाबाट खगेन्द्र न्यौपाने (१३५७), कतारबाट राजु रेग्मी ‘राज’ (१९००), यूकेबाट रामशरण सिमखडा (१५५२) र जापानबाट रोविन शेरचन (२१८०) विजयी भएका छन् ।

यूकेबाट रोजिना प्रधान राईले १९४७ भोट ल्याएर महिला उपाध्यक्ष जित्दा उहाँकी प्रतिद्वन्द्वी साउदी अरवियाबाट वेगम सैयद १९१४ मत ल्याउनु भयाे ।

युवा उपाध्यक्षमा रोसन थापा २४६८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी अब्दुल बासिदले १३२२ मत प्राप्त गर्नुभयो ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी हुनु भएको छ। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गर्नुभयाे ।

उपमहासचिवमा २१५० मत ल्याएर प्रवीन गुरुङ कतारबाट र १७९० मत ल्याएर सोमनाथ सापकोटा यूकेबाट निर्वाचित भएका छन् ।

१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना सचिवमा १६७३ मत ल्याएर भीम केसी ‘कमल’, १७८२ मत ल्याएर डा. ज्ञानेन्द्र रेग्मी, २०२४ मत ल्याएर मनोजकुमार श्रेष्ठ, १८५३ मत ल्याएर डा. नवराज रोस्यारा, १६५१ मत ल्याएर पारमणि पोखरेल र १६६६ मत ल्याएर स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन् ।

महिला सचिवमा राधिका गुरुङ ‘टीका’ ले २३२० मत ल्याएर विजयी हुँदा विमला सापकोटा १५३९ मत ल्याउनु भयाे।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानालाई हराउँदै सुदनकुमार थापा निर्वाचित हुनु भएको छ। सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलकप्रसाद गैरे (२२३२) मत ल्याएर विजयी हुनु भएको छ ।

अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी हुनु भएको छ। उहाँकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याउनुभयो । अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गर्नुभयो । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी हुनु भयाे ।