अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पछिल्लो २४ घण्टामा दशैं मनाउन १ लाखले काठमाडौँ उपत्यका छाडे

पछिल्लो २४ घण्टामा दशैं मनाउन १ लाखले काठमाडौँ उपत्यका छाडे


काठमाडौँ-दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो। योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उहाँले बताउनुभयो।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन्। आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिनुभयो । निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ।