अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकको समृद्धि र विकासको जिम्मेवारी एमालेको काँधमा आएको छ: सचिव विष्ट

मुलुकको समृद्धि र विकासको जिम्मेवारी एमालेको काँधमा आएको छ: सचिव विष्ट

परिवर्तन नचाहने शक्तिहरू सलबलाए


सिन्धुपाल्चोक-नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले देश निर्माणका जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभएको छ।

एमाले मेलम्ची नगर कमिटीले शुक्रवार मेलम्चीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले देश निर्माणको जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभयो। 

‘यो देशको विकास र समृद्धिको नेतृत्व नेकपा एमाले बाहेक अरु कसैले गर्न सक्दैन, देशको बिकास र समृद्धि नेकपा एमालेले चाहान्छ’ उहाँले भन्नुभयो।

सचिव विष्टले नेपालमा परिवर्तन नचाहने शक्तिहरू सलबलाएको आरोप लगाउनुभएको छ।

सचिव विष्टले नेपालको इतिहासमा गएका दुई वर्षमा सबैभन्दा धेरै युवाहरू विदेशीएको भन्दै एमालेको सरकारको पालामा देशमै केही गर्छु भन्ने युवाहरू आज विदेशमा पलायन हुन परेको बताउनुभयो। एमालेले युवाहरूमा भरोसा र आम जनतामा आशा जगाउनु पर्ने विष्टको भनाइ थियो ।

सचिव विष्टले देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको बताउनुभयो । उहाँले कोरोना, भूकम्प जस्ता अवस्था सामना गर्दा समेत यस्तो अर्थतन्त्र नभएको उल्लेख गर्दै अहिले व्यापारी तथा व्यवसायीहरू चौतर्फी घेराबन्दीमा परेका कारण उत्साह नभएको बताउनुभयो।

उहाँले एमालेले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै देशलाई आर्थिक हिसाबले तुलनात्मक रुपमा आत्मनिर्भर बनाउने,प्राकृतिक स्रोत र साधनहरूलाई अधिकतम उपयोग गर्दै देश विकासमा अगाडी बढाउने सन्दर्भ नै अहिलेको सवाल रहेको बताउनुभयो । उहाँले यस्ता सवालहरू जबसम्म नेकपा एमाले बलियो हुन सक्दैन ,एमालेको सरकार बन्दैन तबसम्म यो सवाल अगाडी बढ्न नसक्ने बताउनुभयो ।

सचिव विष्टले आगामी दिनहरूमा गणतन्त्र विरोधी नारा र साम्प्रदायिक सद्भाव बिथोलेर देशलाई अस्थिरताको खाडलतिर धकेल्न प्रयत्न गर्न सक्ने भएकाले यस्ता कुरामा जोगिने र देशलाई जोगाउने प्रमुख जिम्मेवारी एमालेको भएको बताउनुभयो ।