भरतपुर-चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन्। इच्छाकामना गाउँपालिका-६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताउनुभयो। ‘दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन’, उहाँले भन्नुभयो, “केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।” उहाँले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गर्नुभएको हो । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन्।
यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन्। त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भन्नुभयो। 'खोरमा २० बाख्रा छन्। चार वटा २० हजारमा बेचियो', उहाँले भन्नुभयो, 'अरु खसी बजार लगेर बेच्ने तयारीमा छु।'
कोयलघारीकै डोपबहादुर गुरुङलाई विगत्को वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उहाँले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उहाँले बताउनुभयो । खसीबोका बिक्रीबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गर्नुभएको छ । उहाँले पाँच दिन अगाडि खसीबोका बिक्री गर्नुभएको हो। 'यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन्। बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ', उहाँले भन्नुभयो।
कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा हुनुहुन्छ। यसपटक दसैँ खर्च जोहो गर्न चार खसी बेच्ने उहाँले बताउनुभयो। '३० बाख्रा छन्। चार वटा पाठा बेच्न नारायणघाट जाने हो', उहाँले भन्नुभयो, 'छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो।' प्रत्येक वर्ष खसीबोका बेचर दसैँ मनाउने गरेको उहाँले सुनाउनुभयो। खानीगाउँ र कुलयघारीमा एक सय आठ घरधुरी छन्। अधिकांशको घरमा कम्तीमा २० बाख्रा छन्। गाईभैँसी कम पाल्दै आएका उनीहरुको मुख्य आम्दानी बाख्रा नै हो। अधिकांशले दसैँमा खसीबोका बेचेर मनाउने गर्दछन्।
अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो छ सय रुपैयाँसम्म मूल्य पारेका थिए। अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा सुनील ज्ञवाली बताउनुभयो। पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेच्नुभएको छैन', उहाँले भन्नुभयो, 'उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गर्नुभएको छ।' अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु एक हजार दुई सयमा बिक्री भइरहेको छ। इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ। दसैँमा खसीबोकाको कारोबार भने यकीन नभएको उहाँले बताउनुभयो।





प्रतिक्रिया