अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायल गएको छोरा दसैँका बेला बाकसमा फर्किंदा…

इजरायल गएको छोरा दसैँका बेला बाकसमा फर्किंदा…

इजरायलमा हमासको आक्रमणमा मारिएका दीपेश विष्टको शव सोमबार बिहान अन्त्येष्टिका लागि महाकाली नदीमा लग्दै परिवार र आफन्त। तस्बिर : शेरबहादुर सिंह/रासस


महेन्द्रनगरमुलुकभर दसैंको रौनक बढिरहेको बेला आज (सोमबार) बिहान  कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा भने सन्नाटा छायो। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उहाँको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो। 

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झर्नुभएकी आमा पार्वती छोराको शव देखेपछि बेहोस हुनुभयो। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।

“दीपेश पढाइमा सानैदेखि अब्बल थियो। सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो”, छिमेकी सुरेश पालले भन्नुभयो, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिति निकै दुःखदायी बनेको छ।’

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो। दार्चुलाको लेकम गाउँपालिका-५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका-१५ मा समेत छ।

दीपेश यहीँ बसेर पढेका थिए। कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउनुभयो।

“दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्’, दीपेशको मलामी महाकाली पुग्नुभएका प्रिन्सिपल ओझाले भावुक हुँदै भन्नुभयो, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो।’

यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाइलाई जसरी भए पनि डाक्टर बनाउने थियो। दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यान्सरबाट मृत्यु भएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आउनुभयो।

आमा पार्वती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुनुहुन्छ । दीपेशका भाई वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बिपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन्।

विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो। रासस