काठमाडौँ-दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ। नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।
हिजो मंगलबार शुभ साइतमा टीका थाप्न नपाएकाहरूले आज पनि आफन्तकहाँ गएर दसैंको टीका, जमरा र आर्शिवाद लिने गर्दछन् । टाढाटाढा जानु पर्ने र माइत,ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।
नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ।
विजयादशमीको भोलिपल्ट पर्ने अर्थात आज पापाङ्कुशा एकादशी पनि रहेको छ। यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।
आजका दिन काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको चाँगुनारायणमा भगवान विष्णुका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ।





प्रतिक्रिया